भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. ले कम आय भएका तथा स्वास्थ्य सेवामा पहुँच कम भएका नागरिकलाई लक्षित गर्दै “सुलभ उपचार कार्यक्रम” सार्वजनिक गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले विगत लामो समयदेखि सञ्चालनमा रहेको अस्पतालले अब गुणस्तरीय स्वास्थ्य सेवा सुलभ दरमा उपलब्ध गराउने उद्देश्यसहित नयाँ कार्यक्रम ल्याएको जानकारी दिए। उनले कम शुल्कका कारण लामो लाइन, अपरेसनका लागि महिनौँ कुर्नुपर्ने, सफा तथा शान्त वातावरणको अभाव, स्वास्थ्यकर्मीबाट पर्याप्त समय नपाउने जस्ता समस्यालाई सम्बोधन गर्न कार्यक्रम ल्याइएको बताए।
अस्पतालका अध्यक्ष डा. सुबोध कुमार पाण्डेयले सुलभ भए पनि सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे। उनका अनुसार बिरामीलाई पर्याप्त समय दिएर सम्मानजनक र गुणस्तरीय सेवा प्रदान गरिनेछ।
कार्यक्रमअन्तर्गत ओपिडी टिकट १५० रुपैयाँ, जनरल वार्ड ५०० रुपैयाँ, आईसीयू सेवा प्रतिदिन २२०० रुपैयाँ, सिटी स्क्यान (हेड) ३५०० रुपैयाँ, भिडियो एक्सरे ८०० रुपैयाँ र एनआईसीयू सेवा प्रतिदिन २००० रुपैयाँमा उपलब्ध गराइने जनाइएको छ। साथै, सुलभ दरमा अपरेसन प्याकेजसमेत उपलब्ध हुने अस्पतालले जनाएको छ।
त्यसैगरी, प्रत्येक महिना एक–एक जना गरिब तथा विपन्न बिरामीलाई पित्तथैलीको पत्थरी, नाक–कान–घाँटी र पाठेघरसम्बन्धी शल्यक्रिया निःशुल्क गरिने व्यवस्था मिलाइएको छ। निःशुल्क सेवाका लागि निश्चित प्रक्रिया पूरा गर्नुपर्ने अस्पतालले जनाएको छ।
उक्त कार्यक्रम वैशाख १६ गतेदेखि लागू हुने जनाइएको छ। सुलभ ओपिडी सेवा लिन बिहान ७ बजेदेखि ९:३० बजेसम्म टिकट काट्नुपर्ने व्यवस्था गरिएको अस्पतालका सुचना अधिकारी रिता घिमिरेले बताएम।
अस्पतालले नेपाल सरकारको निर्देशनअनुसार १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिने व्यवस्था अझ प्रभावकारी बनाइएको र सामाजिक सुरक्षा कोषअन्तर्गत निःशुल्क डायलाइसिसलगायतका कार्यक्रम पनि सञ्चालनमा रहेको जानकारी गराइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology