देवदह । देवदह नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेपछि स्थानीयवासीमा त्रास र अन्यौलता बढेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट गत चैत २४ गते प्राप्त निर्देशनात्मक पत्रका आधारमा सूचना जारी गरिएको नगरपालिकाको भनाई छ । तर कस्ता प्रकृतिका जग्गा खाली गराइने भन्ने स्पष्ट नखुलाइँदा स्थानीयमा भ्रम बढेको प्रतिक्रिया आएको छ ।
नगरपालिकाको सूचनाबारे सेतोमसीले राखेको जिज्ञासामा नगर प्रमुख ध्रुवप्रसाद खरेलले सडक, कुलो, ताल, पोखरी लगायतका सार्वजनिक संरचना अतिक्रमण गरी अनधिकृत रूपमा बनाइएका घर, भवन, टहरा, ट्रस तथा अन्य संरचना हटाइने बताए ।
‘अतिक्रमण अत्याधिक बढेको छ । सरकारी जग्गा जोगाउनु स्थानीय सरकारको दायित्व हो ।’ उनले भने, ‘नियमअनुसार बसेकाहरू डराउनु पर्दैन, अतिक्रमण गर्नेहरूले भने जग्गा खाली गर्नुपर्छ ।’
खोजिएलान् त प्राचीन कुला र घोलाहरु ?
समयसंगै देवदह क्षेत्रमा सिंचाई कुला हराएका छन् । काठमाडौंमा टुकुचाको खोजी गरीझैँ देवदहमा कुला खोज्नुपर्ने अवस्था हाम्रो सामु छ । कृषिको विकास गर्ने र यसलाई मुख्य प्राथमिकताको क्षेत्र भनेर भाषण गर्नेहरुले सिंचाई कुलोको संरक्षण गर्नैपर्ने कृषि अगुवाहरु बताउँछन् ।
‘केहि वर्षअघिसम्म कलकल पनि बग्ने र बार्है महिना सिंचाई गर्न सकिने कुलाहरु अहिले हराए ।’ एक अगुवा किसानले सेतोमसीसंग भने, ‘यी कुला बचाउन सकियो भने मात्र यहाँको कृषि बच्ने छ ।’
यस्ता कुलाहरुमा कजरार खोलादेखि कोलुवा हुँदै बग्ने सिंचाई कुलो, पानबारी खेलमैदान आसपास हुँदै बग्ने कुलो, माथिल्लो लोकेश्वर क्षेत्रको जमुनाबाँधबाट सुरु हुने सिंचाइ कुलो, सानाकिसान कृषि सहकारी र कोलिय देवदह सहकारी आसपासका क्षेत्रहुँदै बग्ने कुलो, मिलनचोक–तिनढोले हुँदै बग्ने घोलो, पिपलडाँडा–शीतलनगरबीच भाग हुँदै बग्ने घोलो लगायतका क्षेत्रहरुमा अतिक्रमण भएको छ ।
त्यस्तै शीतलनगर उत्तरदेखि कोशेली भवनको पूर्वतर्फको कुलो, देवदह मावि क्षेत्र हुँदै बग्ने कुलो, घोडाह क्षेत्रका विभिन्न भाग, नागथान पथ, सरहन खोलादेखि दक्षिणतर्फ बग्ने घोलो, केउली–भलुही क्षेत्र तथा भलुही चोक आसपासका कुला तथा खोलामा समेत व्यापक अतिक्रमण भएको जानकारहरु बताउँछन् ।
उल्लेखित क्षेत्रमा कतिपय ठाउँमा कुलो मिचेर वा पुरेर बाटो, व्यक्तिगत रुपमा ठुलाठुला घरहरु तथा स–साना घरटहरा वा सार्वजनिक भौतिक निर्माणका कामहरु गरिएको छ । केहि बर्ष यता कतिपय त्यस्ता स्थानहरु व्यवसायिक प्रयोजनबाट प्लटिङ गरी बिक्रीसमेत गरिएको पाइएको छ ।
यसबाहेक देवदहका विभिन्न विद्यालय, क्याम्पस, खेलमैदान, सार्वजनिक खुला चौरहरु र प्रस्तावित बसपार्क क्षेत्रसमेत अतिक्रमण गरी व्यक्तिगत, व्यावसायिक तथा संस्थागत संरचना निर्माण भएका छन् ।
नगरपालिकाको सूचना अनुसार १५ दिनभित्र उल्लेखित स्थानमा रहेका संरचना खाली नगरिए नगरपालिकाको डोजर चल्ने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology