देवदह । देवदह नगरपालिका वडा नं ९ घोडाहास्थित सन्दीप आधारभूत विद्यालयले एसीसहितको कक्षाकोठादेखि स्विमिङ पुलसम्म निर्माण गर्ने लक्ष्यसहित ५ वर्षे विद्यालय सुधार योजना तयार गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा विद्यालयले २०८३ देखि २०८७ सालको अन्त्यसम्म सम्पन्न गर्ने गरी योजना निर्माण गरेको प्रधानाध्यापक दुर्गालाल तिवारीले बताए ।
योजना अनुसार पहिलो वर्ष २०८३ मा एसीसहितको बालकक्षा कोठा निर्माण तथा सञ्चालन गरिनेछ । साथै विद्यालय परिसरमा पर्खाल लगाउने काम सुरु गरी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसै अवधिमा फुलबारी निर्माणसमेत गरिने जनाइएको छ ।
२०८४ सालमा स्विमिङ पुल निर्माणको तयारी तथा भवन निर्माणको प्रक्रिया अघि बढाइनेछ भने शिक्षकहरूलाई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम प्रदान गरिनेछ ।
२०८५ मा भवन निर्माण सुरु गरिने र बालबालिकाका लागि भित्री खेलकुद सामग्री खरिद गरिने विद्यालयले जनाएको छ । सोही वर्षसम्म विद्यालयको कम्पाउन्डमा पर्खाल लगाउने कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
२०८६ मा कक्षा ४ र ५ मा प्रोजेक्टर जडान गरिनेछ भने २०८७ सम्ममा थप चार वटा नयाँ कक्षाकोठा निर्माण गरी सबै कक्षामा प्रोजेक्टर जडान गर्ने योजना विद्यालयले अघि सारेको छ । यससँगै विद्यालयलाई देवदह नगरपालिकाको नमुना आधारभूत विद्यालयका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रम कार्यान्वयनका लागि सामुदायिक वन, स्थानीय सरकार, प्रदेश सरकार, अभिभावक, विभिन्न संघसंस्था तथा पूर्व विद्यार्थीहरूसँग सहकार्य गरिने विद्यालयले जनाएको छ । यसको लागि इच्छुक दाताहरूको खोजी समेत विद्यालयले गर्नेछ ।
कार्यक्रममा कार्यक्रम वडा नं ९ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनबहादुर जीसी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व तथा वर्तमान वडा जनप्रतिनिधि, टोल विकास संस्था, सामुदायिक वन उपभोक्ता समिति, आमा समूह, पूर्व शिक्षक, चन्दादाता तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology