देवदह । देवदहमा शिक्षकलाई योग तथा संस्कार शिक्षा प्रशिक्षण दिइएको छ । देवदह नगरपालिका वडा नं. ५ को आयोजनामा तथा जीवन विज्ञान देवदहको सहयोगमा सञ्चालन गरिएको ७ दिने प्रशिक्षण बिहिवार एक कार्यक्रम बीच समापन गरियो ।
बुद्ध पूर्णिमाको दिनबाट सुरु भएको प्रशिक्षणमा देवदहका सामुदायिक तथा संस्थागत विद्यालयका ३५ जना शिक्षकहरूको सहभागिता रहेको जनाइएको छ ।
बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले प्रशिक्षण संचालन गरिएको देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्षसमेत रहेका नगर प्रवक्ता गणेश डुम्रेले बताए ।
तालिममार्फत शिक्षकलाई योग, ध्यान तथा संस्कार शिक्षामा दक्ष बनाउँदै विद्यालयमा नियमित रूपमा कार्यक्रम सञ्चालन गर्न प्रेरित गरिएको आयोजकको भनाइ छ ।
कार्यक्रममा बालबालिकामा नैतिकता, अनुशासन, सकारात्मक सोच र जिम्मेवार नागरिक चेतना विकास गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
देवदह-५ लोकेश्वर मन्दिरस्थित जेष्ठ नागरिक मिलन केन्द्र आयोजित प्रशिक्षण समापन कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षक सचेत र सक्रिय भए मात्रै विद्यार्थीमा सकारात्मक परिवर्तन सम्भव हुने बताए ।
समापन कार्यक्रममा जीवन विज्ञान केन्द्रिय शिक्षा विभाग सदस्य दुर्गा बहादुर क्षेत्री, देवदह नगर अध्यक्ष नमकान्त पाण्डे, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल लगायतले विचार राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology