बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारद्वारा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको व्यवहारप्रति रूपन्देहीका राजनीतिक दलहरूले संयुक्त रूपमा आपत्ति जनाएका छन् ।
मंगलबार जारी संयुक्त प्रेस विज्ञप्तिमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा शान्ति र सुशासन कायम गर्ने नाममा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि अन्यायपूर्ण व्यवहार भइरहेको आरोप लगाइएको छ ।
दलहरूले नेपाली जनतालाई समृद्ध भविष्य दिने आश्वासनसहित बनेको वर्तमान सरकार जनताको आधारभूत समस्याप्रति संवेदनशील बन्न नसकेको बताएका छन् । विज्ञप्तिमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गर्नुको सट्टा उनीहरूको घरबस्तीमा डोजर चलाउने, जबरजस्ती हटाउने तथा नागरिक र मानव अधिकारमाथि हस्तक्षेप गर्ने कार्य भइरहेको उल्लेख गरिएको छ ।
संयुक्त विज्ञप्तिमार्फत दलहरूले यस्ता गतिविधि तत्काल रोक्न माग गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
विज्ञप्तिमा रास्वपाबाहेकका दलहरुले हस्ताक्षर गरेका छन् । जसमा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँड, नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे ,नेपाल कम्युनिष्ट पार्टीका निर्मल जिसी, श्रम संस्कृति पार्टीका छविलाल गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण प्रसाद श्रेष्ठ लगायतका नेताहरूको हस्ताक्षर रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology