देवदह । रुपन्देहीको देवदह-९ घोडाहामा पुरुषोत्तम मासको अवसर पारी आयोजना गरिएको ‘पुरुषोत्तम महात्म्य–२०८३’ मा भत्तजनहरुको उल्लेख्य सहभागिता बढ्दै गएको छ ।
देवदहको नागथान शिवालय मन्दिर परिषरमा पुरुषोत्तम मासको अवसरमा १०८ शिवलिङ्ग तथा त्यति नै संख्यामा पिपल स्थापनार्थ जेठ ९ गतेदेखि सुरुभई १३ गते समापन हुने कार्यक्रममा हालसम्म दाताहरुले ८० भन्दा बढि शिवलिङ्ग दान गरिसकेको सचिवालय संयोजक जगनाथ अधिकारीले जानकारी दिए ।
सुप्रसिद्ध कथाबाचक चन्द्रकान्त काफ्लेले कथाबाचन गरिरहेको धार्मीक कार्यक्रममा विभिन्न दाताहरुले सहयोग रकम समेत दान गरिरहेको आयोजक संस्था शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मीना क्षेत्रीले बताईन् ।
यसअघि बिहिबार पुरुषोत्तम महात्म्यको समुद्घाटन समारोहमा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले धार्मिक र आध्यात्मिक क्षेत्रमा जनस्तरबाट हुने लगानीलाई नगरपालिकाले सम्मान गर्ने बताए । धर्म र अध्यात्मले मानिसमा इमान्दारिता र सदाचारिताको विकास गर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले समाजमा रहेका विकृति विसंगतिलाई अन्त्य गर्नका लागि धार्मिक अनुष्ठानहरुले सहयोगी भुमिका खेल्ने बताइन् । उनले देवदहमा रहेका पुरातात्विक एवम् धार्मीक क्षेत्रहरुको संरक्षण र संवद्र्धन गरिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रम अन्तर्गत प्रत्येक दिन बिहान ७ बजे यज्ञमण्डप पूजनसँगै धार्मिक अनुष्ठानका कार्यहरु सुरु हुनेछन् । बिहान ८ बजेदेखि पाठ पारायण, ११ बजेदेखि ४ बजेसम्म संगितमय कथावाचन तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट झाँकी सहित भजन कृतन प्रस्तुत हुने मुल आयोजक समितिका संयोजक देवी अधिकारीले जानकारी दिइन् ।
यसैगरी प्रत्येक दिन ४ बजेपछि टिका प्रसाद ग्रहण तथा साँझ ७ बजेबाट १० बजेसम्म, भजन कृतन झाँकी प्रदर्शन हुने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology