काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका क्रममा सत्तारुढ दलले लोकतन्त्रको हरिबिजोक बनाएको आरोप लगाएका छन् । सरकारले पेश गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै अध्यक्ष ओलीले मतदातालाई
कतिपय ठाउँमा मत हाल्न नदिइएको, फलानालाई मत नदिए देश दुर्घटनामा पर्ने, आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट नपठाउने जस्ता गैर लोकतान्त्रिक गतिविधी र धम्की भएको, ठाउँठाउँमा आक्रमण गरिएको जस्ता कुराले लोकतन्त्रको अपमान भएको उनले आरोप लगाए ।
आफुले जितेको ठाउँमा मात्र विकास र बजेट जान्छ भन्ने धम्कीका बीच डढेलधुरामा मेडिकल कलेज लैजाने कुरा आएको भन्दै ओलीले भने ‘अब डढेलधुरामै मेडिकल कलेज जाने भएछ अब राख्ने चाहिँ कुन पालिकामा हो ? कांग्रेसले जितेकै पालिकामा त होला । प्रधानमन्त्रीकै वडामा चाहिँ केही नजाने भयो क्यार, किनकी त्यहाँ रुखले कुनै पद जितेन । लोकतन्त्रको हरिबिजोक यहाँभन्दा अर्को के हुन्छ ?’
मैले उठाएको उम्मेदवारलाई मत नदिए देश दुर्घटनामा जान्छ भन्ने धम्की सुन्दा नागरिकले द्वन्द्वकालको अवस्था स्मरण गरेको र मानिस आतंकित भएको अध्यक्ष ओलीको भनाई छ ।
चुनावका क्रममा सत्तारुढ दलले राज्यसत्ता र शक्तिको चरम दुरुपयोग गरेको भन्दै सुरक्षाकर्मीहरु पनि माथिको आदेश भन्दै निरीह रहेको दाबी गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology