नवलपरासी। क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाको आयोजनामा बरिष्ठ पत्रकार तथा जनसांस्कृतिककर्मी कृष्ण सेन ईच्छुकको स्मृति तथा सांस्कृतिक बलिदान दिवस–२०७९ को अवसरमा बिरामी भेटघाट तथा फलफूल वितरण कार्यक्रम शुक्रवार गरिएको छ ।
महासंघले बर्दघाट–२ चिसापानी अस्पताल र बर्दघाट–१४ चौपत्ताको सहिद स्मृति अस्पतालमा बिरामी भेटघाट तथा फलफूल वितरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले कृष्ण सेन ईच्छुकले 'जनपक्षीय पत्रकारिता, प्रगतिवादी साहित्य र संस्कृतिको पक्षमा गरेका कार्यहरु अतुलनीय रहेको' स्मरण गरे ।
उनले राष्ट्रियता , जनतन्त्र र जनजिविकाको पक्षमा कलम चलाउनु आजको मिसन पत्रकारिता रहेको उल्लेख गरे । उनले मंहगी, सबै क्षेत्रमा ब्याप्त भष्ट्रचारी, कमिशनखोरी तथा बिभिन्न बिसंगतिको बिरुद्ध भण्डाफोर गर्नु क्रान्तिकारी जनपक्षीय पत्रकारहरुको दायित्व रहेको चर्चा गरे ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री , अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य तथा महासंघ जिल्ला उपाध्यक्ष बाबुराम गिरी मुसाफिरको आतिथ्यता रहेको जिल्ला अध्यक्ष संजय तिवारीले जानकारी दिए ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीकी कोषाध्यक्ष लक्ष्मी घिमिरे , जिल्ला सदस्य तथा संचारकर्मी बुद्धि भुजेल , अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ मुक्तमाया महतो , क्रान्तिकारी युवा लीगमा उपाध्यक्ष राजेन्द्र न्यौपाने, अस्पतालका कार्यरत चिकित्सक एंव स्वास्थ्यकर्मी तथा प्रशासन र बिभिन्न फाँटका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका अध्यक्ष संजय तिवारीको अध्यक्षतामा भएको थियो ।
कृष्ण सेन जनादेशका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर जनपक्षीय पत्रकारिता गर्दै आउनुभएको थियो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद् समेत रहेका सेन साहित्यिक क्षेत्रमा इच्छुक नामबाट स्थापित हुनुहुन्थ्यो । उहाँका ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरी’, तथा ‘इतिहासको यस घडिमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन् । उहाँलाई २०५८ जेठ ६ गते आफ्नै सहकर्मीहरूको गद्दारीका कारण पेजर कलमार्फत् लोकेशन पत्ता लगाएर काठमाडौंको मध्यबानेश्वर स्थित ह्वाइट हाउस स्कूलबाट पुलिसले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा लगेर एक हप्तासम्मको चरम यातना दिएर हत्या गरिएको थियो । क्रान्तिकारी पत्रकार महासंघ, अखिल नेपाल जनसांस्कृतिक महासंघ र इच्छुक सांस्कृतिक प्रतिष्ठान लगायत थुप्रै संगठन र संस्थाहरुले सेनको हत्यारा पत्ता लगाउन माग गर्दै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology