देवदह । देवदह-९, घोडाहा स्थित ऐतिहासिक नागथान क्षेत्रलाई धामको रुपमा विकास गर्ने उद्देश्यसहित त्यसका लागि आवश्यक निर्माण समिति गठन भएको छ । स्थनीयबासीको भेलाले पूर्णचन्द्र पुरीको अध्यक्षतामा निर्माण समिति गठन गरेको हो ।
११ सदस्यीय निर्माण समितिको उपाध्यक्षमा होमबहादुर क्षेत्री, सचिवमा ऋषिराम खनाल र कोषाध्यक्षमा देवी अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दीपक पाण्डे, टोपली गैरे, टेकबहादुर रावल, भिमबहादुर क्षेत्री, निशा राना मगर पूर्णबहादुर शुर्यवंशी र तुलसा पाण्डेय रहेका छन् ।
भेलाले मनबहादुर क्षेत्री संयोजक तथा डोलराज न्यौपाने र दुर्गबहादुर राना सदस्य रहनेगरी ३ सदस्यीय अनुगमन तथा मुल्याङ्कन समिति चयन गरेको छ ।
यसैगरी भेलाले ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा चमकान्त गौडेल, पवन पौडेल, जगनाथ अधिकारी, प्रेमबहादुर मल्ल (हाकिम सम्राट), चिन्तामणि न्यौपाने, हेमलाल बस्याल र नारायण न्यौपाने रहेका छन् ।
देवदहको नागथान शिवालय मन्दिर परिषरमा १०८ शिवलिङ्ग, १०८ गौमुखे धारा तथा त्यति नै संख्यामा पिपल स्थापनार्थ जेठ ९ गतेदेखि पुरुषोत्तम मासको अवसरमा पुरुषोत्तम महात्म्य धार्मिक महायज्ञ आयोजना गरिएको थियो । जेठ १३ गते समापन लगत्तै बसेको स्थानीयको भेलाले उक्त क्षेत्रलाई धामको रुपमा विकास गर्नेगरी बृहत् डिपिआर समेत निर्माण गरेको नव गठिन निर्माण समितिका अध्यक्ष पुरीले बताए । उक्त डिपिआरमा मुल मन्दिरसंगै पञ्चदेव मन्दिर, अशोक बाटिका, ध्यान केन्द्र, कामधेनु गाई, ध्यानकेन्द्र, नाग कुण्ड, अष्टनाग, सचिवालय तथा पुजारी गृह तथा कार्यक्रम हल लगाएत समावेश गरिएको छ ।

अध्यक्ष पुरीका अनुसार उक्त क्षेत्रलाई धामको रुपमा विकास गर्नको लागि वास्तुशास्त्री प्रेमबहादुर मल्ल (हाकिम सम्राट) को सल्लाह र निगरानीमा डिपिआर निर्माण गरिएको छ । वास्तुशास्त्री सम्राटले समेत नागथान क्षेत्र वास्तुको हिसावले समेत अत्यन्त सकारात्मक उर्जायुक्त क्षेत्र भएको बताएको पुरीले जानकारी दिए ।
‘देवदह नगरपालिका लाई आध्यात्मिक नगरको रुपमा विकास गर्नको लागि नगरसभाले संकल्प प्रस्ताव पारित गरिसकेको अवस्थामा यहाँका धार्मिक स्थल पनि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने किसिमको हुनुपर्छ ।’ अध्यक्ष पुरीले भने, ‘हामीलाई आम धार्मिक व्यक्तित्वहरुले दिनुभएको आश्वासन र सहयोगले हौसला प्रदान गरेको छ, हामी यसलाई आध्यात्मिक धामको रुपमा विकास गर्नेगरी अघि बढिरहेका छौं ।’
महायज्ञ आयोजक समितिका संयोजक देवी अधिकारीका अनुसार उक्त धार्मिक अनुष्ठानका क्रममा जम्मा ४० लाख ५६ हजार १९५ रुपैयाँ संकलन भएको थियो । त्यसमध्ये ३१ लाख ८८ हजार ८८९ रुपैयाँ नगद प्राप्त भएको तथा ८ लाख ६७ हजार ३०६ रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ । कार्यक्रम सम्पन्न गर्न ६ लाख ३८ हजार ३०६ रुपैयाँ खर्च भएको आयोजकले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology