सुनवल । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबिच सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । स्थानीय तह निर्वाचन ऐन-२०७३ बमोजिम २०७९ साल बैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुबाट सुनवल नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । सदस्यहरुलाई सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्यालले प्रमाण पत्र वितरण गरेका छन् ।
सुनवल नगरपालिकाको निर्वाचन कार्यालयमा कार्यपालिका महिला सदस्यहरु सिता भण्डारी, भूमिकला शर्मा, सिता तिमल्सिना, जुठीमाया पुन, भगवती बस्याल साथै दलित, अल्पसंख्यक सदस्यहरु मुकेश बेल्दार , मायादेवी कुमाल र बिनोद कुमार टोमटा खाती लगायतलाई प्रमाण पत्र वितरण गरिएको बताईएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नगर प्रमुख बिमला अर्यालले सुनवल नगरबासीको स्वास्थ्यसंग जोडिएको स्वच्छ पिउने पानी उपलब्ध गराउने हेतुले आफनो पहिलो निणर्य ५ हजार लिटर पानी निशुल्क उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखी नगरले सोमबार सुनवल-१२ मा डिप बोरीङको लागि भूमि पुजन गरिएको र सो कार्य छिटै संचालनमा आउने बताईन् । उनले सबै एक्यवद्ध भैई नेतृत्वलाई सघाए मात्र समृद्व सुनवल सुखी सुनवलबासी तुल्यान सहज हुने जिकिर गरिन् ।
यस्तै कार्यक्रमका अध्यक्ष एवम सुनवल नगर निर्वाचन अधिकृत लिलाधर अधिकारीले प्रमाण पत्र वितरण पश्चात निर्वाचनका औपचारिक कार्यक्रमहरु सुनवल नगरमा समाप्त भएको बताए । अधिकारीले नबनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन प्रक्रियामा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology