Logo

२०८३, आश्विन ९गते


images
images

क्वान्टासको ‘प्रोजेक्ट सनराइज’को पहिलो परीक्षण उडान सफल, १९ घण्टामा फ्रान्सबाट अस्ट्रेलिया

क्वान्टासको ‘प्रोजेक्ट सनराइज’को पहिलो परीक्षण उडान सफल, १९ घण्टामा फ्रान्सबाट अस्ट्रेलिया

images
  • क्वान्टासको ‘प्रोजेक्ट सनराइज’को पहिलो परीक्षण उडान सफल, १९ घण्टामा फ्रान्सबाट अस्ट्रेलिया
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाको राष्ट्रिय वायुसेवा कम्पनी क्वान्टासले आफ्नो महत्वाकांक्षी ‘प्रोजेक्ट सनराइज’ अन्तर्गत पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । फ्रान्सको टुलुजबाट उडेको विमान १९ घण्टा १३ मिनेटको निरन्तर उडानपछि शुक्रबार बिहान अस्ट्रेलियाको मेलबर्नमा अवतरण गर्दै नयाँ इतिहास रचेको हो ।

    images
    images
    images

    यो उडानमा विमानले करिब १७ हजार किलोमिटर दूरी पार गरेको क्वान्टासले जनाएको छ । परीक्षण उडानको मुख्य उद्देश्य विमानमा जडान गरिएको विशेष इन्धन प्रणालीको परीक्षण गर्नु थियो । उडानमा एयरबसका चार जना चालक र पाँच जना परीक्षण इन्जिनियर सहभागी थिए ।

    images
    images
    images

    यो विमानमा सामान्य ए–३५०–१००० मोडेलमा नहुने २० हजार लिटर क्षमताको अतिरिक्त इन्धन ट्याङ्की जडान गरिएको छ । यही ट्याङ्कीका कारण विमानले करिब २२ घण्टासम्म निरन्तर उडान गर्न सक्ने क्षमता प्राप्त गरेको छ । क्वान्टासका अनुसार परीक्षणपछि विमान पुनः फ्रान्सस्थित एयरबस मुख्यालय फर्किनेछ ।

    images
    images
    images

    क्वान्टासले सन् २०१७ मा ‘प्रोजेक्ट सनराइज’ घोषणा गरेको थियो । त्यसपछि सन् २०२२ मा विशेष रूपमा परिमार्जित १२ वटा ए–३५०–१००० विमान खरिद गर्ने सम्झौता गरिएको थियो ।

    पहिलो विमान यसै वर्ष प्राप्त गर्ने योजना भए पनि ढिलाइ भएपछि अब सन् २०२७ को अप्रिलमा पहिलो विमान कम्पनीलाई हस्तान्तरण गरिनेछ। बाँकी ११ वटा विमान त्यसपछिका करिब अढाई वर्षभित्र उपलब्ध हुनेछन् । कम्पनीले सिड्नी–लन्डन सिधा उडान सन् २०२७ को अक्टोबरदेखि सञ्चालन गर्ने योजना बनाएको छ । यस मार्गका टिकट आगामी फेब्रुअरीदेखि बिक्रीमा राखिनेछ। सिड्नी–न्युयोर्क सिधा उडान पनि सन् २०२७ कै अन्त्यतिर सुरु गर्ने लक्ष्य छ ।

    यद्यपि परीक्षण उडान मेलबर्नमा अवतरण गरे पनि मेलबर्नबाट लन्डन वा न्युयोर्कसम्म सिधा उडान कहिलेदेखि सुरु हुने भन्ने विषयमा कम्पनीले अहिलेसम्म कुनै समयसीमा तय गरेको छैन ।

    क्वान्टासकी प्रमुख कार्यकारी अधिकृत भानेसा हड्सनका अनुसार सिड्नीबाट सेवा सुरु भएपछि मात्रै मेलबर्नबारे निर्णय गरिनेछ । कम्पनीले ठूलो बजार भएकाले पहिलो प्राथमिकता सिड्नीलाई दिएको जनाएको छ ।

    सिड्नी–लन्डन सिधा उडानका लागि उत्तर ध्रुव हुँदै जाने विशेष हवाई मार्ग प्रयोग गरिनेछ । क्वान्टासका प्रमुख प्राविधिक चालक एलेक्स पासेरिनीका अनुसार विशेषगरी उत्तरी गोलार्धमा जाडो याममा करिब २० प्रतिशत उडान यही मार्गबाट हुनेछन् ।

    यो मार्ग दूरीका हिसाबले लामो देखिए पनि प्रतिकूल हावाबाट बच्न र कम हवाई चाप हुने भएकाले समय बचत हुने कम्पनीको दाबी छ । विमान उत्तर प्रशान्त महासागर, अलास्का, ग्रिनल्यान्ड र आइसल्यान्ड हुँदै लन्डन पुग्नेछ ।

    क्वान्टासका अनुसार सिड्नीदेखि लन्डनसम्मको सबैभन्दा छोटो उडान समय १९ घण्टा २५ मिनेट र सबैभन्दा लामो २० घण्टा ५५ मिनेट हुनेछ ।

    करिब २० घण्टाभन्दा लामो उडानका क्रममा यात्रुले धेरै समय क्षेत्र पार गर्नुपर्ने भएकाले थकान, निद्राको समस्या र शरीरको जैविक घडीमा असर पर्न सक्छ । यसलाई ध्यानमा राख्दै विमानभित्र १२ घण्टासम्म कृत्रिम अन्धकार, सूर्योदय र सूर्यास्तजस्ता विशेष प्रकाश व्यवस्था, उच्च प्रोटिनयुक्त हल्का भोजन तथा यात्रुका लागि व्यायाम गर्न सकिने स्वास्थ्य क्षेत्र तयार गरिएको छ ।

    ‘प्रोजेक्ट सनराइज’ क्वान्टासको दीर्घकालीन योजना हो, जसको उद्देश्य अस्ट्रेलियालाई विश्वका प्रमुख सहरसँग बिनारोकटोक सिधा हवाई सेवामार्फत जोड्नु हो । यस योजनाको नाम दोस्रो विश्वयुद्धका त्यस्ता गोप्य उडानबाट प्रेरित हो, जसमा यात्रा यति लामो हुन्थ्यो कि यात्रुले एउटै यात्रामा दुईपटक सूर्योदय देख्ने अवसर पाउँथे । क्वान्टासले यही अवधारणालाई आधुनिक व्यावसायिक हवाई सेवामा रूपान्तरण गर्न लागेको हो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।