बुटवल । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ (छाता संगठन) अन्तर्गत सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको प्रथम प्रादेशिक भेला शनिबार बुटवलमा सम्पन्न भएको छ ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्य प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अमात्यले नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ बीमा अभिकर्ताहरूको सबैभन्दा ठूलो संगठन भएको उल्लेख गर्दै यसको गरिमा कायम राख्न विमितहरूको विश्वास जितेर काम गर्नुपर्ने बताए । उनले संस्थागत विकास र पेशागत हितका लागि संगठनको आवश्यकता रहने उल्लेख गर्दै लुम्बिनी प्रदेशको प्रथम भेलाले सक्षम नेतृत्व निर्माण गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम गुरुङ, केन्द्रीय उपाध्यक्षद्वय ऋषिराम भुसाल र रामजी पोखरेल तथा केन्द्रीय सहसचिव चन्द्रबहादुर नेपालीले शुभकामना व्यक्त गर्दै बीमा पेशालाई मर्यादित, व्यवस्थित र संगठित रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघमा १४ वटा जीवन बीमा तथा १४ वटा निर्जीवन बीमा कम्पनी आबद्ध रहेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट करिब ७० जना बीमा अभिकर्ताको सहभागिता रहेको थियो । शारदा खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन केन्द्रीय सहसचिव सुभाष रिजालले गरेका थिए ।
भेलाले मानबहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यीय लुम्बिनी प्रदेश समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा केशरप्रसाद पोखरेल (नवलपरासी), प्रेमनारायण गैरे (कपिलवस्तु) र पूर्णबहादुर गमाल मगर (प्यूठान), सचिवमा शारदा खनाल (बुटवल), सहसचिवमा चेतबहादुर सारु (पाल्पा) तथा कोषाध्यक्षमा सञ्जु बस्याल (भैरहवा) चयन भएका छन् ।
यस्तै सदस्यहरूमा झलककुमार चन्द (नेपालगञ्ज), देवेन्द्र चौधरी (दाङ), अमरबहादुर भाट क्षेत्री (अर्घाखाँची), विष्णुप्रसाद खनाल (बुटवल), माया पौडेल (कपिलवस्तु) र राजेशकुमार बानियाँ (भैरहवा) चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक ऋषिराम भुसालले पद तथा गोपनीयताको शपथ गराएका थिए । निर्वाचन समितिका सदस्यमा खडकबहादुर क्षेत्री र रामजी पोखरेल रहेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology