देवदह । लुम्बिनी प्रदेशसभा सदस्य दिपा बिकले विकास निर्माण अनावश्यक राजनीति गर्न नहुने बताएकी छन् । सोमवार देवदह वडा नं. १ स्थित डाँडाटोलमा दलित सामुदायिक भवनको शिलान्यास गर्दै उनले विकास जनताको अधिकार भएकोले अनावश्यक विवाद सिर्जना गरेर विकास निर्माणका कार्य रोक्न नहुँने बताएकी हुन् ।
प्रदेश सांसद बिकको पहलमा लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको २५ लाख बराबरको रकममा निर्माण हुने उक्त भवन निर्माणका लागि वडाको तत्कालीन नेतृत्वले जग्गा उपलब्ध गराउने लगायतका कार्यमा समन्वय नगरी दलित समुदायको पहलमा बन्न लागेको सामाजिक भवनमा उपभोक्ता समितिलाई दु:ख दिएको तर्फ संकेत गर्दै उनले विकासमा राजनीतिक रंग देखाउँनु गलत भएको बताईन् ।
आफ्नो कार्यकाल सकिन लागेको र पुनः आफू निर्वाचित भए पनि वा नभएपनि विकास-निर्माण र नागरिकका सबैखाले समस्या समाधानका लागि सदैव लागिरहने उल्लेख गर्दै बिकले निर्माण हुन गैरहेको दलित सामाजिक भवन देवदहवासी र मुख्यत: वडा नं. १ का नागरिकको साझा सम्पत्तिको रुपमा रहने बताइन् ।
त्यसै गरि सोही कार्यक्रममा बोल्दै वडा नं.१ का वडा अध्यक्ष दिपक नेपालले देवदह १ को विकास र समृद्धिका लागि जनताले आफुलाई निर्वाचित गरेको उल्लेख गर्दै आफ्नो नजरमा सम्पूर्ण वडावासी समान रहेको बताए । कसैलाई काखा र कसैलाई पाखा नगरी आफुले वडाको नेतृत्व गर्ने उनको भनाइ थियो ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेश कुमार खातीलो अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खगेन्द्र विक 'सुजित', निर्वाचित वडा अध्यक्ष लालमोहन यादव, माओवादी केद्रका नेताहरू मोतिलाल ढकाल, गोविन्द ठटराई, भरत तिवारी, शंकर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology