देवदह । पूर्वी क्षेत्र निजी विद्यालय एसोसियसन (इप्सा) को आयोजनामा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा देवदह क्षेत्रका १४ वटा विद्यालयबाट १४ जना विद्यार्थीको सहभागिता रहेको जनाइएको छ ।
प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयकी छात्रा समीक्षा सुनामी प्रथम भएकी छन् । यस्तै, नमुना एभरग्रीन बोर्डिङ स्कुलकी छात्रा नुराङ सारू द्वितीय, सगरमाथा आवासीय माध्यमिक विद्यालयकी छात्रा आरध्या पौडेल तृतीय तथा एसियन लाइट बोर्डिङ स्कुलकी छात्रा वर्षा बोहोरा सान्त्वना स्थान हासिल गर्न सफल भइन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार रुपैयाँ, द्वितीयलाई ३ हजार ५ सय रुपैयाँ, तृतीयलाई २ हजार ५ सय रुपैयाँ र सान्त्वना हुनेलाई १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको इप्सा अध्यक्ष विनोद थापा मगरले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले कविता लेखनले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले विद्यार्थीहरूलाई आफ्नो सिर्जनात्मक लेखनलाई निरन्तर अघि बढाउन आग्रह गर्दै साहित्यले सकारात्मक सोच, चेतना र सामाजिक परिवर्तनको आधार निर्माण गर्ने धारणा व्यक्त गरे ।
त्यसैगरी इप्साका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक राम बहादुर गुरुङले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने, सिर्जनात्मक क्षमता विकास गर्ने तथा लेखन संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
कार्यक्रममा एन-प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेल, इप्साका सल्लाहकारहरु महेश पराजुली, रमेशकृष्ण पाण्डे, बोधराज गौडेल र प्रेमनारायण केवट लगायतको सहभागीता रहेको थियो ।
अध्यक्ष थापाको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य टीकाराम चापागाईंले व्यक्त गरेका थिए भने शुभकामना मन्तव्य रामबहादुर गुरुङले राखेका थिए भने सञ्चालन सचिव कमल पौडेलले गरेका थिए ।
प्रतियोगितामा निर्णायकको भूमिका रमेश समर्थन र कृष्ण पाण्डेले निर्वाह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology