देवदह । लेखक निर्मल ढुङ्गानाको पुस्तक 'बुद्धको मामाघर' शनिबार देवदहमा विमोचन हुने भएको छ । पुस्तकको प्रकाशक शिखा बुक्सले शुक्रबार देवदहमा पत्रकार भेटघाट गरी पुस्तकको विषयवस्तु र विमोचन कार्यक्रमबारे जानकारी दिएको हो ।
कार्यक्रममा शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलले 'बुद्धको मामाघर' बुद्ध दर्शनमा रुचि राख्ने स्वदेश तथा विदेशका सबै पाठकले अध्ययन गर्नुपर्ने पुस्तक भएको बताए । उनले पुस्तकले देवदहलाई बुद्धमाता मायादेवीको माइती तथा बुद्धको मामाघरका रूपमा चिनाउने मात्र नभई बुद्ध दर्शनलाई गहिराइबाट बुझ्न चाहने पाठकका लागि महत्वपूर्ण सामग्री प्रस्तुत गरेको धारणा राखे ।
पौडेलले पुस्तकलाई देश–विदेशका पाठकमाझ सहज रूपमा पुर्याउने वितरण सञ्जाल शिखा बुक्ससँग रहेको उल्लेख गर्दै अनलाइन माध्यमबाट समेत पुस्तक उपलब्ध गराइने जानकारी दिए ।
त्यसैगरी पुस्तकका लेखक निर्मल ढुङ्गानाले देवदहको बारेमा जान्ने भोकले पुस्तक जन्मिएको बताए । 'बुद्धको बाल्यकाल र देवदहबारे जान्ने हुटहुटीको कारण यो पुस्तक तयार भएको हो' उनले भने ।
कार्यक्रममा बौद्ध दर्शनका अध्येता तथा लुम्बिनी प्रदेशका पूर्व सांसद डा. कृष्णप्रसाद न्यौपानेले 'बुद्धको मामाघर' देवदहको ऐतिहासिक पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले आफूले पनि 'बुद्धकालीन देवदह' नामक पुस्तक प्रकाशन गरी विमोचनको तयारी गरिरहेको जानकारी दिँदै देवदहसम्बन्धी थप ऐतिहासिक तथ्यहरू सार्वजनिक हुँदै गएको बताए ।
पत्रकार भेटघाट कार्यक्रममा नियात्राकार बिएन जोशी, आख्यानकार शैलेन्द्र अधिकारी, समालोचक राजकुमार बानियाँलगायत साहित्यिक व्यक्तिको उपस्थिति रहेको थियो ।
बुद्धको मामाघर शनिवार बिहान ११ बजे बिमोचन हुने पुस्तक विमोचन कार्यक्रमको आयोजक संस्था अनुराग साहित्य समाजकी अध्यक्ष सरस्वती बस्यालले जानकारी दिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology