देवदह । लेखक निर्मल ढुंगानाद्वारा लिखित ‘बुद्धको मामाघर’ कृति रुपन्देहीको देवदहमा विमोचन गरिएको छ ।
शिखा बुक्स प्रकाशनद्वारा प्रकाशित कृतिको देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले विमोचन गरेका हुन् ।
भगवान गौतम बुद्ध र बुद्धको मावलीस्थल देवदहको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई मुख्य विषयवस्तु बनाइएको कृतिमा देवदहको पुरातात्विक पहिचान, शाक्य–कोलिय सभ्यता तथा बुद्धको मावली पक्षबारे विस्तृत चर्चा गरिएको छ ।
कृति विमोचन कार्यक्रममा लेखक ढुंगानाले करिब ६ वर्षको अध्ययन तथा अनुसन्धानपछि पुस्तक प्रकाशनमा ल्याएको बताए ।
कृति विमोचन गर्दै नगरप्रमुख खरेलले भगवान गौतम बुद्धको मावली देवदह नै हो भन्ने विषयमा थप प्रमाण र अध्ययन आवश्यक रहेको अवस्थामा ‘बुद्धको मामाघर’ कृतिले देवदहको ऐतिहासिक पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए ।
उनले कृतिलाई नगरपालिकाको सम्पत्तिका रूपमा ग्रहण गर्ने जानकारी दिँदै देवदहलाई बुद्धमाता मायादेवीको माइती तथा बुद्धको मामाघरका रूपमा चिनाउन पुस्तकले सहयोग पुर्याउने बताए । कृतिले देवदहको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो ।
देवदहबारे थप अध्ययन तथा अनुसन्धानमा आधारित कृतिहरू प्रकाशन गर्न आवश्यक रहेको बताउँदै खरेलले यस्ता साहित्यिक तथा अनुसन्धानमूलक कृतिले देवदहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वसांसद डा. कृष्णप्रसाद न्यौपानेले देवदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन कृतिले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कृतिमा देवदह क्षेत्रमा रहेका गौतम बुद्धसँग सम्बन्धित विभिन्न ऐतिहासिक स्थलका बारेमा चर्चा गरिएको बताए ।
त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख आचार्य दयानिधिले ‘बुद्धको मामाघर’ कृति देवदहको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा रहेको बताए ।
कार्यक्रममा शैलेन्द्र उपाध्याय, राजकुमार बानियाँ र गणेश डुम्रेले कृतिको समीक्षा गरेका थिए ।
अनुराग साहित्य समाज नेपालको व्यवस्थापनमा आयोजित कार्यक्रम समाजका अध्यक्ष सरस्वती बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलले स्वागत तथा अनुराग साहित्य समाजका सचिव अनन्तराम भण्डारीले सञ्चालन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology