Logo

२०८३, श्रावण २७गते


images
images

आँधीको शक्ति अनुमान गर्न वैज्ञानिकले सार्कको सहारा लिँदै

आँधीको शक्ति अनुमान गर्न वैज्ञानिकले सार्कको सहारा लिँदै

images
  • आँधीको शक्ति अनुमान गर्न वैज्ञानिकले सार्कको सहारा लिँदै
    images
    images

    काठमाडौँ । समुद्रमा स्वतन्त्र रूपमा घुम्ने सार्क अब समुद्री जीवको अध्ययनका लागि मात्र नभई शक्तिशाली आँधीको पूर्वानुमान सुधार्न पनि उपयोगी हुन सक्ने देखिएको छ ।

    images
    images
    images

    अमेरिकाको डेलावेयर विश्वविद्यालयका वैज्ञानिकहरूले सार्कको शरीरमा साना विद्युतीय उपकरण जडान गरेर समुद्रको तापक्रम, गहिराइ र पानीको लवणतासम्बन्धी तथ्याङ्क संकलन गर्ने परीक्षण गरिरहेका छन् । यी तथ्याङ्कले अमेरिकाको पूर्वी तटतर्फ आउने आँधीको सम्भावित शक्ति अनुमान गर्न सहयोग गर्ने वैज्ञानिकहरूको अपेक्षा छ ।

    images
    images
    images

    वैज्ञानिकहरूले सार्कको पृष्ठीय पखेटामा जडान गर्ने उपकरणले पानीको विद्युतीय चालकता, तापक्रम र गहिराइ मापन गर्छ । पानीको विद्युतीय चालकता लवणतासँग नजिकबाट सम्बन्धित हुने भएकाले यसबाट समुद्रको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुन्छ । सार्क पानीको सतहमा आउँदा उपकरणले संकलित तथ्याङ्कलाई भूउपग्रहमा पठाउछ, जसबाट वैज्ञानिकले लगभग वास्तविक समयमै समुद्रको अवस्थाबारे जानकारी पाउन सक्छन् ।

    images
    images
    images

    अनुसन्धानको मुख्य चासो समुद्रको माथिल्लो तहमा रहेको तापको मात्रा अर्थात् मिश्रित तहमा छ । वैज्ञानिक आरोन कार्लिसलका अनुसार यही तहमा रहेको तातो पानीले आँधीलाई आवश्यक ऊर्जा उपलब्ध गराउने भएकाले समुद्रको माथिल्लो तह जति तातो हुन्छ, आँधी त्यति नै शक्तिशाली बन्न सक्छ । त्यसैले समुद्रको तापक्रम र अन्य अवस्थाबारे नियमित तथ्याङ्क प्राप्त गर्न सके आँधीको शक्ति अनुमान गर्ने मौसम तथा जलवायुसम्बन्धी नमुनालाई थप प्रभावकारी बनाउन सकिने वैज्ञानिकहरूको विश्वास छ ।

    अनुसन्धानका लागि छोटो पखेटे माको, निलो सार्क, चिल्लो हथौडा टाउके सार्क र कम उमेरका ठूलो सेतो सार्कलाई उपयुक्त मानिएको छ । यी प्रजाति उत्तरी एटलान्टिक क्षेत्रमा पर्याप्त फैलिएका छन् र पानीको सतहमा आउने भएकाले उनीहरूमा जडान गरिएका उपकरणबाट भूउपग्रहमा तथ्याङ्क पठाउन सकिने सम्भावना बढी छ । सामान्यतया सार्कमा लगाइने उपकरणले उनीहरू कहाँ जान्छन् र कुन क्षेत्रमा बस्छन् भन्ने जानकारी मात्र संकलन गर्दै आएकोमा यो अनुसन्धानले समुद्री वातावरणको प्रत्यक्ष मापनमा जोड दिएको छ ।

    अनुसन्धानकर्ताहरूले हरेक वर्ष मे महिनाको सुरुदेखि तटीय क्षेत्रनजिक आउने सार्क समातेर उपकरण जडान गर्छन् । उनीहरू अनुसन्धान जहाजमार्फत समुद्रको तटबाट करिब ५० देखि ६५ किलोमिटर पर पुगेर चारो राखिएका डोरी प्रयोग गर्छन् र सार्कलाई समात्छन् । उपकरण पृष्ठीय पखेटामा जडान गर्ने प्रक्रिया पाँच मिनेटभन्दा कम समयमा पूरा गरिन्छ । सार्कलाई कुनै दीर्घकालीन क्षति नहोस् भनेर समयसँगै आफैँ खस्ने गरी उपकरण जडान गरिएको हुन्छ र छाड्नुअघि प्रत्येक सार्कको स्वास्थ्य परीक्षणसमेत गरिन्छ ।

    अनुसन्धान सफल भए सार्कबाट प्राप्त तथ्याङ्कले अमेरिकाको पूर्वी तटमा आउने आँधीको शक्ति कति हुन सक्छ भन्ने पूर्वानुमान सुधार्न सहयोग गर्नेछ । विशेषगरी उत्तरी क्यारोलिनादेखि म्यासाचुसेट्ससम्मका तटीय समुदायलाई शक्तिशाली आँधीको जोखिमबारे थप भरपर्दो जानकारी दिन सकिने वैज्ञानिकहरूको अपेक्षा छ। अनुसन्धानकर्ताहरूले सार्कलाई केवल डरको प्रतीकका रूपमा हेर्नुभन्दा समुद्रको अवस्थाबारे महत्वपूर्ण जानकारी उपलब्ध गराउन सक्ने जीवका रूपमा बुझ्नुपर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आँधीको पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।