देवदह । रुपन्देहीको देवदह क्षेत्रमा खाना पकाउने ग्यासको अभाव नरहेको पाइएको छ । पछिल्लो समय ग्यास अभाव र आपूर्तिमा समस्या भएको चर्चा भइरहेका बेला देवदह प्रहरी चौकीले गरेको अनुगमनमा बजारमा ग्यासको आपूर्ति सहज रहेको पाइएको हो ।
देवदह प्रहरी चौकीले क्षेत्रका विभिन्न ग्यास डिलर तथा पसलको अनुगमन गरी ग्यासको मौज्दात र आपूर्तिको अवस्थाबारे जानकारी लिएको थियो । अनुगमनका क्रममा देवदह क्षेत्रमा उपभोक्तालाई आवश्यक पर्ने ग्यास सहज रूपमा उपलब्ध भइरहेको पाइएको प्रहरीको भनाइ छ ।
देवदह प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक भीमसेन विष्टले अनुगमनका क्रममा ग्यास अभावसम्बन्धी कुनै समस्या नदेखिएको बताए । उपभोक्तालाई अभाव हुन नदिने गरी ग्यास व्यवस्थापन भइरहेको पाइएको उनले जानकारी दिए ।
अनुगमन टोलीले भण्डारी ट्रेड सप्लायर्स, गणपति स्टोर, अञ्जना स्टोर, अपेक्षा जनरल स्टोर र जिज्ञासा स्टोरको अवलोकन गरेको थियो ।
गणपति स्टोरका सञ्चालक तथा देवदह व्यापार संघका अध्यक्ष माधव ढकालले एक–दुई दिनको अन्तरमा ग्यास आपूर्ति भइरहेको बताए । उनले स्टोरमा हाल करिब एक सय भरिएका सिलिन्डर मौज्दात रहेको बताए ।
भरिएका सिलिन्डरको तुलनामा खाली सिलिन्डरको संख्या बढी भए पनि उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउँदै आएको ढकालले बताए । उपभोक्ताले सिलिन्डर लगेको विवरणसमेत अभिलेख राख्ने गरिएको उनले जानकारी दिए ।
सामाजिक सञ्जालमा ग्यास अभावसम्बन्धी सामग्री सार्वजनिक भइरहे पनि देवदह क्षेत्रमा भने ग्यासको आपूर्तिमा समस्या नरहेको ढकालले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology