देवदह । समृद्ध समुदाय विकास केन्द्र (एससीडीसी) को अध्यक्षमा ठाकुर घिमिरे पुनः चयन भएका छन् । संस्थाको आठौँ अधिवेशनले घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा गणेश प्रसाद न्यौपाने, सचिवमा अरुण अर्याल र कोषाध्यक्षमा शान्ता घिमिरे चयन भएका छन् । त्यस्तै सदस्यहरूमा शशिराज बेल्बासे, अलिसा बि.क., विमलेश कुमार गुप्ता बनियाँ, सरस्वती फयाल भट्टराई र देवीसरा थापा चयन भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष सञ्जय लम्सालले नागरिक समाज संस्थाको प्रभावकारिता र विश्वसनीयताका लागि सुशासन, पारदर्शिता र समुदायप्रतिको उत्तरदायित्व आवश्यक रहेको बताए ।
गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष सुशीला बेल्बासे र देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले एससीडीसीले सामाजिक विकास, युवा परिचालन तथा गुणस्तरीय शिक्षाका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।
अधिवेशनमा अध्यक्ष घिमिरेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै देवदह र बर्दघाट क्षेत्रमा समुदाय, युवा, विद्यालय र स्थानीय सरकारबीचको सहकार्यलाई संस्थाको प्रमुख शक्ति भएको बताए ।
संस्थाका निर्देशक युवराज चापागाईंले आगामी रणनीतिक योजना प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा, सक्रिय नागरिकता, युवा सशक्तीकरण, हरित उद्यमशीलता र स्थानीय सरकारसँगको दिगो साझेदारीलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology