देवदह, रुपन्देही । देवदहमा ट्राफिक नियमको पालना, सडक सुरक्षा तथा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जोन १८ अन्तर्गतका लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ र लायन्स क्लब अफ देवदह युनाइटेडको संयुक्त आयोजनामा देवदह–२, ढेकावरस्थित सेभेन स्टार ई.बो. स्कुलमा कार्यक्रम भएको हो ।
लायन्स क्लब अफ देवदह युनाइटेडका अध्यक्ष लायन टिकाराम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पीका डिष्ट्रिक्ट एक्सन टिम कोर्डिनेटर एमजेएफ लायन विष्णुप्रसाद पौडेल प्रमुख अतिथि थिए ।
कार्यक्रममा रिजन ९ का रिजन चियरपर्सन एमजेएफ लायन कमल पौडेल, जोन १८ का जोन चियरपर्सन लायन माधव आचार्य, लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन गणेश कुँवर क्षेत्री, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष लायन नवीन थापा मगर तथा लियो क्लबका अध्यक्ष सुमन गुरुङ लगायतको उपस्थिति थियो ।
प्रमुख अतिथि पौडेलले लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने असरबारे सचेत गराउँदै ट्राफिक नियमको पालना र सडक सुरक्षाका लागि चालक, पैदलयात्री, विद्यार्थी तथा समुदायका सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।
कार्यक्रममा ट्राफिक नियमको पालना, सडकमा अपनाउनुपर्ने सुरक्षा सावधानी, सुरक्षित यात्रा तथा सडक दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिइएको थियो । विद्यार्थी तथा युवालाई लक्षित गर्दै लागुऔषध दुर्व्यसनका कारण हुने व्यक्तिगत, पारिवारिक तथा सामाजिक असरबारे पनि जानकारी गराइएको थियो ।
देवदह प्रहरी चौकीका इञ्चार्ज भिमसेन विष्ट तथा ट्राफिक प्रहरी कार्यालय खैरेनीका प्रमुख नन्दबहादुर शाहीले कार्यक्रमको सहजीकरण गरेका थिए । उनीहरूले ट्राफिक नियम उल्लङ्घनबाट हुने जोखिम, सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, सवारी साधन सञ्चालन गर्दा पालना गर्नुपर्ने नियम तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराए ।
कार्यक्रममा लायन्स क्लब अफ देवदह युनाइटेडका सहसचिव केशव खनालले स्वागत मन्तव्य राखेका थिए भने काशीराम रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।
आयोजकका अनुसार सचेतना अभियानअन्तर्गत यसअघि सगरमाथा कलेजमा पनि कार्यक्रम सम्पन्न भइसकेको छ । आगामी दिनमा देवदह क्षेत्रका अन्य कलेज तथा शैक्षिक संस्थामा समेत ट्राफिक नियम, सडक सुरक्षा र लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
विद्यार्थी तथा युवालाई लक्षित अभियानले सडक अनुशासन कायम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा लागुऔषध दुर्व्यसनविरुद्ध सामाजिक जागरण फैलाउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology