देवदह । देवदह इङ्लिस बोर्डिङ हाई स्कुलमा कविता वाचन तथा अन्तरसदनात्मक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, साहित्यप्रतिको रुचि तथा लेखन सीप विकास गर्ने उद्देश्यले शुक्रबार प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको हो ।
विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच कविता वाचन तथा कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच अन्तरसदनात्मक निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा ९६ जना विद्यार्थी सहभागी भएका थिए ।
कक्षा १ देखि ३ सम्मका लागि ‘आमा’ तथा कक्षा ४ देखि ५ सम्मका लागि ‘मेरो कल्पनाको नेपाल’ शीर्षकमा कविता वाचन प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । कक्षा १ देखि ३ को कविता वाचनतर्फ कक्षा १ रोजकी अनु विटालु प्रथम, कक्षा १ लिलीकी मिञ्जल भुषाल द्वितीय, कक्षा ३ रोजकी सुधा काफ्ले तृतीय तथा कक्षा २ लिलीकी सृष्टिका बस्याल सान्त्वना स्थान हासिल गर्न सफल भइन् ।
कक्षा ४ देखि ५ को कविता वाचनतर्फ कक्षा ५ रोजकी निकोल चापागाई प्रथम, कक्षा ४ लिलीकी गुञ्जन तिवारी द्वितीय तथा सोही कक्षाकी शिवानी भट्टराई तृतीय भइन् ।
त्यस्तै, कक्षा ६ देखि ७ सम्म ‘अनुशासन जीवनको पहिलो खुड्किलो’ तथा कक्षा ८ देखि १० सम्म ‘समृद्ध नेपाल निर्माणमा युवा वर्गको भूमिका’ शीर्षकमा अन्तरसदनात्मक निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरिएको थियो ।
कक्षा ६ देखि ७ को निबन्ध लेखनतर्फ रातो सदनकी सशिका खनाल प्रथम, पहेँलो सदनकी जिविका बस्याल द्वितीय तथा हरियो सदनकी सृष्टि काफ्ले तृतीय भइन् । कक्षा ८ देखि १० को प्रतियोगितामा पहेँलो सदनकी अनुश्रा पौडेल प्रथम, रातो सदनकी युनिटी राना द्वितीय तथा पहेँलो सदनकै सत्यम अर्याल तृतीय भए ।
विद्यालयकी आन्तरिक व्यवस्थापक सुजाता लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन सोनिया खनालले गरेकी थिइन् भने सञ्चालन आशिष बस्यालले गरेका थिए । प्रतियोगिताको निर्णायकमा दुर्गा तिवारी, मन्दिरा तिमलसीना र माधव भट्टराई रहेका थिए । कार्यक्रमलाई सुमन गुरुङले सहजीकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology