काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको विद्युतीय भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ८: २५ बजे बा १ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा ३–००१ ज ११७६ नम्बरको खाली विद्युतीय भ्यानलाई ठक्कर दिएको थियो । ठक्करपछि बस र भ्यान सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए ।
दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन् ।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ की करिब २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की करिब ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की करिब ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् । तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology