Logo

२०८३, आश्विन ९गते


images
images

सामाजिक सञ्जाल कम्पनीविरुद्धको सबैभन्दा ठूलो कानुनी लडाइँको सामना गर्दै मेटा

सामाजिक सञ्जाल कम्पनीविरुद्धको सबैभन्दा ठूलो कानुनी लडाइँको सामना गर्दै मेटा

images
  • सामाजिक सञ्जाल कम्पनीविरुद्धको सबैभन्दा ठूलो कानुनी लडाइँको सामना गर्दै मेटा
    images
    images

    काठमाडौँ । अमेरिकी अदालतमा सामाजिक सञ्जालका किशोर प्रयोगकर्तालाई हानिकारक सामग्रीबाट जोगाउन नसकेको आरोपमा मेटाविरुद्ध चलिरहेको मुद्दा थप गम्भीर बनेको छ । 

    images
    images
    images

    मेटाविरुद्धको यो मुद्दालाई सामाजिक सञ्जाल कम्पनीविरुद्धको सबैभन्दा ठूलो कानुनी लडाइँमध्ये एक मानिएको छ । मुद्दामा मेटाबाट २०० अर्ब अमेरिकी डलरसम्म क्षतिपूर्ति माग गरिएको छ । यसका साथै अदालतसँग मेटाका सामाजिक सञ्जालको संरचना र सञ्चालन प्रणालीमा ठूलो परिवर्तन गर्न आदेश दिन पनि माग गरिएको छ । यस घटनालाई सन् १९९० को दशकमा अमेरिकी तम्बाकु उद्योगविरुद्ध चलेका मुद्दासँग तुलना गरिएको छ । त्यतिबेला पनि कम्पनीहरूले आफ्ना उत्पादनबाट हुने हानिबारे जानकारी हुँदाहुँदै व्यापारलाई निरन्तरता दिएको आरोप लागेको थियो । 

    images
    images
    images

    यही क्रममा मेटाका पूर्व इन्जिनियरिङ निर्देशक तथा सल्लाहकार आर्टुरो बेजरले कम्पनीले सार्वजनिक गरेको तथ्यांकभन्दा किशोरले हानिकारक तथा आपत्तिजनक सामग्री हेरेको वास्तविक संख्या करिब ४०० गुणासम्म बढी रहेको दाबी गरेका छन् ।

    images
    images
    images

    बेजरका अनुसार मेटाले सार्वजनिक गरेको प्रतिवेदनमा किशोर प्रयोगकर्ताले अश्लील, हिंसात्मक वा अन्य गम्भीर दृश्य सामग्रीको सामना गर्ने जोखिम शून्य दशमलव शून्य एकदेखि ०.०२ प्रतिशतसम्म रहेको उल्लेख गरेको थियो । तर कम्पनीभित्र गरिएको अध्ययनमा यस्तो सामग्रीको पहुँच सार्वजनिक तथ्यांकभन्दा १०० देखि ४०० गुणासम्म बढी देखिएको उनले अदालतमा बताएका छन् ।

    मेटामा प्रयोगकर्ता सुरक्षासम्बन्धी काम गर्दा गरिएको आफ्नो अध्ययनले किशोरहरू अनलाइन दुर्व्यवहार, धम्की र उत्पीडनको सामना गर्ने अवस्था कम्पनीको आधिकारिक तथ्यांकमा देखाइएभन्दा निकै ठूलो रहेको बेजरको भनाइ छ ।

    उनका अनुसार मेटाको प्रणालीले कम्पनीका नीतिहरू प्रत्यक्ष रूपमा उल्लङ्घन गर्ने सामग्री र घटनालाई मात्र गणना गर्ने गरेको थियो । तर उनको अध्ययनमा किशोर प्रयोगकर्तासँग उनीहरूले भोगेको वास्तविक अनुभवबारे प्रत्यक्ष जानकारी लिइएको थियो । यसबाट कम्पनीको नीति उल्लङ्घन नगर्ने सामग्रीसमेत किशोरका लागि मानसिक रूपमा पीडादायी वा हानिकारक हुन सक्ने देखिएको उनले बताएका छन् ।

    यस विषयमा अमेरिकाका २९ राज्यले मेटाविरुद्ध कानुनी लडाइँ अघि बढाएका छन्। क्यालिफोर्निया, कोलोराडो, केन्टकी र न्यु जर्सीका महान्यायाधिवक्ताको नेतृत्वमा क्यालिफोर्नियाको ओकल्यान्डस्थित संघीय अदालतमा मुद्दाको सुनुवाइ भइरहेको छ । राज्यहरूले मेटालाई आफ्ना सामाजिक सञ्जालले बालबालिका तथा किशोरलाई हानि पुर्‍याउन सक्ने कुरा थाहा हुँदाहुँदै पनि व्यापारिक आम्दानी र प्रयोगकर्ताको संलग्नतालाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।

    मुद्दामा फेसबुक र इन्स्टाग्राममा निरन्तर तलतिर सामग्री हेर्न मिल्ने व्यवस्था, प्रयोगकर्ताको रुचिअनुसार सामग्री सिफारिस गर्ने प्रणाली र बारम्बार आउने सूचनाजस्ता सुविधा बालबालिकालाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी तयार गरिएको आरोप पनि लगाइएको छ । त्यसैगरी, अभिभावकको अनुमति नलिई १३ वर्षभन्दा कम उमेरका बालबालिकाको व्यक्तिगत विवरण संकलन गरेको आरोपसमेत मेटामाथि लगाइएको छ ।

    आगामी साताहरूमा हुने सुनुवाइका क्रममा मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग र इन्स्टाग्राम प्रमुख एडम मोसेरीले समेत अदालतमा बयान दिनुपर्ने सम्भावना रहेको छ । मेटाले भने आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेको छ । कम्पनीले राज्यहरूले प्रस्तुत गरेका प्रमाणलाई गलत सन्दर्भमा प्रयोग गरिएको दाबी गरेको छ ।
    मेटाका अनुसार प्रयोगकर्तालाई सुरक्षित बनाउन कम्पनीले ठूलो रकम लगानी गरेको छ । साथै, तोकिएको न्यूनतम उमेर पूरा नगरेका लाखौँ बालबालिकाका खाता हटाइएको पनि कम्पनीले जनाएको छ । तर अदालतको फैसला मेटाविरुद्ध आएमा कम्पनीले ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने मात्र नभई फेसबुक र इन्स्टाग्रामका प्रमुख सुविधामा समेत ठूलो परिवर्तन गर्नुपर्ने हुन सक्नेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिकी अदालत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।