फस्टाएन मेरो फुलको खेती
सोचेथें
तिम्रा कोमल पाउँ नपरुन माटोमा
ओच्छ्याई दिउँ
फुलैफुलको गलैँचा ।
कोठाभरी मगमगाउने
फुलैफुलले सजाई दिउँ तिम्रो बिस्तारा।
अनि ढाकिदिउँ
सिउरेर फुलैफुल तिम्रो चुल्ठो भरी ।
रोपिदिउँ बनजंगल खेतबारी फुलैफुल
सजाई दिउँ घर आँगन र चौतरी
सजाई दिउँ करेसा मोठ र फुलबारी ।
सोचे झैं कहाँ हुँदोरहेछ र डल्ली
सुन्दैछु आजभोलि
तिमी त
काँडाको खेती गर्न थालिछौ अरे।
भुनभुन गर्ने भँवरालाई
विष ओकल्न थालिछौ रे
बनाएर माकुरी जाल
फसाउन थालिछौ अरे।
सोचेथे तिमी नै एक फुल हौं
सजाएर मनको बगैंचामा
काँडा बनी सुरक्षा दिनेछु।
चटक्क मन चुँढियो
मुटु कुढियो
मैले फुल बनाएको तिमी काँडा बनेछौ
चुस्स चुस्स घोचिरहने
आफ्नै हाँगाको बैरी बनेछौ।
सोचेंथे तिमी मन्दिरमा चढाउने फुल हौ
गमलामा सजाउने फुल हौ
भुल भएछ
काँडाको संसारमा पुगिछौ तिमी
न फुल न पाती
फस्टाएन मेरो फुलको खेती ।
फस्टाएन मेरो फुलको खेती ।
✍️ रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology