काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसंघको महासभामा गाजामा नरसंहार भएको आरोपलाई अस्वीकार गर्दै त्यसलाई ‘शताब्दीकै सबैभन्दा ठूलो झुट’ बताएका छन्।
नेतन्याहू महासभाको मञ्चमा पुगेलगत्तै विभिन्न देशका ठूलो संख्यामा प्रतिनिधि बैठकबाट बाहिरिएका थिए । केही स्थानमा ताली र कतिपय ठाउँमा विरोधको आवाज सुनिएको थियो। त्यस क्रममा महासभा कक्षका धेरैजसो सिट खाली भएका थिए ।
नेतन्याहूले बहिर्गमन गर्ने प्रतिनिधिहरूलाई ‘नैतिक रूपमा कायर’ भन्दै आलोचना गरेका थिए । उनले गाजामा इजरायलमाथि लगाइएका नरसंहारका आरोप अस्वीकार गर्दै आफ्नो सैन्य कारबाही आत्मरक्षाका लागि भएको दाबी गरेका थिए ।
उनले इरानविरुद्ध इजरायलले गरेको सैन्य कारबाहीको पनि बचाउ गर्दै इजरायलले आफ्नो सुरक्षासँगै अन्य देशको सुरक्षाका लागि समेत काम गरिरहेको दाबी गरेका थिए ।
यसअघि प्यालेस्टिनी पक्षले नेतन्याहूको भाषणका क्रममा सामूहिक रूपमा बैठकबाट बाहिरिन विभिन्न देशका प्रतिनिधिलाई आग्रह गरेको थियो ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भने प्यालेस्टिनीहरू आफ्नो मातृभूमि नछाड्ने बताएका थिए। उनले गाजा र पश्चिम किनारमा भइरहेको विनाश रोक्न अन्तर्राष्ट्रिय समुदायले ठोस कदम चाल्नुपर्ने माग गरेका थिए ।
गाजा युद्धलाई लिएर इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला नेतन्याहूको भाषण भएको हो । इजरायल र हमासबीचको युद्ध २०२३ अक्टोबर ७ मा सुरु भएको थियो। त्यसयता गाजामा ठूलो मानवीय क्षति र भौतिक विनाश भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology