Logo

२०८३, आश्विन २३गते


images
images

अन्तर्राष्ट्रिय

न्यूयोर्कमा ममदानीको जितपछि बदलियो युरोपको राजनीति

न्यूयोर्कमा ममदानीको जितपछि बदलियो युरोपको राजनीति

images
  • न्यूयोर्कमा ममदानीको जितपछि बदलियो युरोपको राजनीति
    images
    images

    काठमाडौं । अमेरिकाको न्युयोर्क सहरको नगर प्रमुखमा जोहरान ममदानीको जितपछि उनको चुनावी अभियानमा उठाइएका महँगी, महँगो भाडा र दैनिक जीवनयापनको खर्चका मुद्दा युरोपेली राजनीतिमा समेत चर्चामा आउन थालेका छन् ।

    images
    images
    images

    गत वर्ष नोभेम्बरमा न्युयोर्कको नगर प्रमुखमा निर्वाचित ममदानीले सहरलाई आम नागरिकका लागि सस्तो बनाउने विषयलाई आफ्नो चुनावी अभियानको मुख्य आधार बनाएका थिए । अहिले जर्मनी, बेलायत, स्पेन, फ्रान्स र नेदरल्यान्ड्सका वामपन्थी नेताहरूले पनि आवासको बढ्दो मूल्य, भाडा र जीवनयापनको खर्चलाई राजनीतिक मुद्दाका रूपमा अघि सारेका छन् ।

    images
    images
    images

    जर्मनीमा सस्तो घरको मुद्दाले दिलायो सफलता

    images
    images
    images

    युरोपमा ममदानीको राजनीतिक शैलीसँग सबैभन्दा बढी तुलना जर्मनीकी एलिफ एराल्पसँग भइरहेको छ । ४५ वर्षीया एराल्प वकिल हुन् । उनका अभिभावक सन् १९८० को टर्कीको सैनिक सत्ता परिवर्तनपछि जर्मनी आएका थिए । उनी सन् २०१७ मा वामपन्थी दल ‘द लिंक’मा आबद्ध भएकी थिइन् । गत महिना भएको निर्वाचनमा एराल्पको दलले महँगो सहर र बढ्दो घरभाडालाई मुख्य मुद्दा बनाएको थियो । एराल्पले बर्लिनमा निजी कम्पनीको स्वामित्वमा रहेका करिब २ लाख २० हजार घरलाई सार्वजनिक नियन्त्रणमा ल्याउनुपर्ने माग गरेकी थिइन् । निर्वाचनमा उनको दलले करिब २५ दशमलव ७ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठूलो दल बनेको छ । यद्यपि सरकार गठनका लागि उसले अन्य दलसँग गठबन्धन गर्नुपर्नेछ ।

    बेलायतमा वातावरणसँग जोडियो महँगो घरको मुद्दा

    बेलायतमा ममदानीसँग सबैभन्दा बढी तुलना हरित दलका नेता ज्याक पोलान्स्कीसँग हुने गरेको छ । वातावरण र जलवायु परिवर्तनका विषयमा केन्द्रित रहँदै आएको उक्त दलको राजनीतिक मुद्दालाई पोलान्स्कीले थप विस्तार गरेका छन् । उनले महँगी, महँगो घर, बढ्दो भाडा, दैनिक खर्च र धनी वर्गमाथि बढी कर लगाउने विषयलाई वातावरणीय राजनीतिसँग जोड्दै आएका छन् । उनले यसलाई वातावरण केन्द्रित जनमुखी राजनीति भन्दै आएका छन् । पोलान्स्कीले ममदानीको जस्तै सामाजिक सञ्जाललाई चुनावी अभियानको महत्वपूर्ण माध्यम बनाएका छन् । उनका अनुसार उनको प्रचार टोलीले ममदानीको प्रचार सामग्री बनाउने टोलीबाट समेत सुझाव लिइरहेको छ । पोलान्स्की अहिले लन्डनको होलबोर्न क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । पूर्वप्रधानमन्त्री कियर स्टार्मरले सांसद पद छाडेपछि अक्टोबर ८ मा त्यहाँ उपनिर्वाचन हुँदैछ । दुई वर्षअघि भएको निर्वाचनमा हरित दलले उक्त क्षेत्रमा १० प्रतिशत मत मात्र पाएको थियो । तर केही सर्वेक्षणले यसपटक उक्त दलले ४० प्रतिशतसम्म मत पाउन सक्ने देखाएका छन् ।

    स्पेनमा आवास संकटले बढायो राजनीतिक दबाब

    स्पेनमा महँगो घर र बढ्दो भाडा अहिले प्रमुख राजनीतिक मुद्दा बनेको छ । गत महिना म्याड्रिडमा ८७ वर्षीया मारिकर्मेन अबास्कललाई ७० वर्षदेखि बस्दै आएको घरबाट निकालिएपछि देशभर विरोध प्रदर्शन भएका थिए । यो घटना स्पेनमा देखिएको आवास संकटको प्रतीक बनेको थियो । आवास समस्यालाई सम्बोधन गर्न सरकारमाथि दबाब बढ्दै गएपछि संसदमा सरकारको आवाससम्बन्धी प्रस्ताव अस्वीकृत भएको थियो ।

    त्यसपछि प्रधानमन्त्री पेद्रो सान्चेजले नोभेम्बर २९ मा समयअगावै आमनिर्वाचन गर्ने घोषणा गरेका थिए । यससँगै स्पेनमा घर र भाडाको विषय सामाजिक समस्याबाट अघि बढेर प्रत्यक्ष चुनावी मुद्दा बनेको छ ।

    फ्रान्समा ६० हजार सस्ता घर बनाउने योजना

    फ्रान्सको राजधानी पेरिसका समाजवादी दलसँग आबद्ध नगर प्रमुख इमानुएल ग्रेगोयरले पनि सस्तो आवास र बढ्दो भाडालाई प्राथमिकतामा राखेका छन् । ग्रेगोयरले पेरिसमा थप सस्ता घर निर्माण गर्ने, खाली रहेका घरलाई आवासका रूपमा प्रयोग गर्ने र भाडा नियन्त्रणलाई थप प्रभावकारी बनाउने विषय अघि सारेका छन् ।

    उनको नेतृत्वमा पेरिसमा ६० हजार नयाँ सस्ता घर निर्माण गर्ने योजना अघि बढाइएको छ । ममदानीको जितअघि नै फ्रान्सका केही वामपन्थी नेताले उनको चुनावी अभियानबाट सिक्नुपर्ने बताएका थिए । ममदानीले आम नागरिकलाई बुझिने गरी सिधा रूपमा उठाएका मुद्दा र प्रचार शैलीप्रति पनि युरोपेली वामपन्थी नेताहरूको चासो बढेको छ ।

    नेदरल्यान्ड्समा आवास अभाव प्रमुख चुनावी मुद्दा

    नेदरल्यान्ड्समा भने ममदानीको जितअघि नै घर र भाडाको समस्या चुनावी राजनीतिमा प्रमुख विषय बनिसकेको थियो । सन् २०२५ को राष्ट्रिय निर्वाचनमा डि६६ दलका नेता रोब येतनले आवास संकटलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । त्यतिबेला नेदरल्यान्ड्समा करिब ४ लाख घरको अभाव रहेको थियो। घर खरिद महँगो हुँदै गएको र भाडासमेत लगातार बढिरहेका कारण ठूलो संख्यामा नागरिक आवासको समस्यासँग जुधिरहेका थिए । येतनको दलले हरेक वर्ष १ लाख नयाँ घर निर्माण गर्ने र १० वटा नयाँ बस्ती विकास गर्ने प्रस्ताव अघि सारेको थियो। निर्वाचनमा उक्त दलले उल्लेख्य सफलता हासिल गर्दै सन् २०२३ मा रहेको ९ सिटबाट बढेर सन् २०२५ मा २६ सिट पुर्‍याएको थियो र सबैभन्दा ठूला दलमध्ये एक बनेको थियो । यसरी नेदरल्यान्ड्समा सस्तो घर र कम भाडाको विषय ममदानीको जितअघि नै प्रमुख राजनीतिक मुद्दा बनिसकेको थियो । 

    ममदानीको सफलताले भने युरोपभरि महँगी, आवास र दैनिक जीवनयापनको खर्चलाई केन्द्रमा राखेर चुनावी राजनीति गर्ने बहसलाई थप बल दिएको देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # न्यूयोर्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।