“ए ! ती खुँडा, खुकुरीहरू नक्कली पो हुन् ?”
पहिलोपटक आफ्नो बुबाको जन्मथलोमा दसैँ मनाउन गएको समीरले सराएँ नाचमा प्रदर्शन गरिएका हतियार देखेर बुबासँग जिज्ञासा राख्यो ।
“हो, ती नक्कली हुन् । काठबाट बनाएर रङरोगन गरिएका ।” बुबाले सहजै जवाफ दिए ।
“अनि, किन त्यस्ता नक्कली हतियार बनाएका त ? के यताको बजारमा सक्कली हतियार किन्न नपाइने भएर हो कि ?” समीरले फेरि प्रश्न थप्यो ।
“होइन, पहिले पहिले त कोट मन्दिरकै सक्कली खुँडा, खुकुरी, तरबार आदि हतियार निकालेर प्रदर्शन गर्थे । हतियारसहित सराएँ नाच्थे । सराएँ नाच्नेहरूले आ–आफ्नो घरबाट पनि हतियार लिएर आउँथे... ।”
“अहिले किन छोडेका त सक्कली हतियारसँगै सराएँ नाच्न ?” बुबाको कुरा पूरा सुन्ने धैर्यसमेत नराखी उसले बीचमै अर्को प्रश्न तेर्स्यायो ।
“ह्या ! भाइ, कति बोलेको ? खुरुखुरु सराएँ नाच हेर् न, चुप लागेर ! अबको केही वर्षपछि सराएँ पनि नक्कली मान्छे अर्थात् रोबोटहरूले खेल्नेछन् र सक्कली मान्छेले त्यही हेरेर मजा लिनेछन् ।”
बुबा र भाइको गन्थनबाट दिक्क भएकी सस्मिताले भविष्यवाणी गरिन् ।
मित्र ‘उराठी’ गौतम
अमरपुर, गुल्मी (हाल : तिलोत्तमा–२, रुपन्देही)
२०८३।७।८ (कोजाग्रत पूर्णिमा)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology