नेपालका बिभिन्न ठाउँमा ट्रेकिङ (Trekking) जाँदा प्राकृतिक सौन्दर्यता हेर्दा र घुम्दा जति रमाइलो लाग्छ, हामिहरुले कहिलेकाँहि गर्ने ट्रेकिङ/हाईकिङ अर्थात् पैदल यात्रा त आजका दिनसम्म पनि बाटोघाटो पुग्न नसकेर त्यहाँका जनताको जीवनशैली हो भनेर बुझ्दा त्यति नै नरमाइलो लाग्छ ।
रुरुक्षेत्र -१, रिडि गुल्मी जिल्लाको द्वार अर्थात गुल्मी जिल्लाको जुनसुकै ठाउँमा पुग्न पनि रुरुक्षेत्र गाँउपालिकालाई टेकेर जानुपर्छ । यो भन्ने बित्तिकै बाटोघाटोका हिसाबले गुल्मी जिल्लाका अन्य पालिकाभन्दा रुरुक्षेत्र गाँउपालिका धेरै सुगम छ भन्ने बुझिन्छ ।
घरमा प्रसुति, बाल बिवाह , कम उमेरमा विवाह र यी संग सम्बन्धित जटिलता, जनचेतना, शिक्षा, बाटोघाटो, एम्बेलेन्स सेवा लगायत सबै कुराहरु आजको भोलि समाधान हुने विषय त होइनन तर सबैको अझ बढि ध्यानाकर्षण हुन भने जरुरी छ । नवनिर्वाचित जनप्रतिनिधिहरुले पक्कै पनि एकदमै पहल गर्नु हुन्छ भन्ने पुर्ण बिश्वास पनि छ ।
बिद्यार्थी जीवनमा समाज, विकास, स्वास्थ्य सबैको बारेमा पढेर जान्ने भएपनि यी शब्दहरुको बास्तबिक अर्थ बुझ्ने बेलामा धेरैजना अन्य बिधार्थीहरु जस्तै म पनि उच्च शिक्षा, जागिर तथा अन्य कारणले गर्दा आफ्नो गाउँठाउँदेखि टाढा रहनुपर्यो । गाउँ फर्किने र गाउँमा समय बिताउने भनेकै दशै तिहारमा मात्र हुन्थ्यो । दशैँतिहारमा गाउँ आउँदा बाटो पनि पहिले भन्दा फराकिलो र सफा, न धुलो छ न हिलो, अन्य ठाउँ जानको लागि मुख्य सडक (Highway ) बलेटक्सार / रिडि पनि नजिकै छ । मेरो गाउँ सुगममा पर्छ र गाउँ भएपनि धेरै सुविधा सम्पन्न छ जस्तो लाग्थ्यो ।
सौभाग्यले गर्दा गाउँ छाडेको केहि बर्ष पछि आफ्नै गाउँ ठाउँमा आएर सेवा गर्ने अवसर मिल्यो र मात्र आफ्नो पालिकालाई नजिकबाट बुझ्ने मौका पाए । आफ्नो कार्य अवधीको भोगाईले थाहा भयो । जुन बाटो मैले चौडा र फराकिलो देखेको थिए, त्यो त दशै तिहारमा मात्र रहेछ । किनकि, त्यो बेला न पानी बढि पर्छ, न त घाम बढि लाग्छ । विकासका लागि गरिएका साना कामहरु पनि कुनै प्राकृतिक प्रकोपले नबिगार्ने हुदा बाटो सजिलो लाग्नु र दुरि छोटो लागेको रहेछ । हरेक दिन निश्चित समयमा कार्यालय पुग्नुपर्दा र कार्यक्रम चलाउनका लागि पालिकाका हरेक वडाका बिभिन्न ठाउँमा तोकिएको समयमा पुग्नु पर्दा मात्र नजिक बाट थाहा भयो । घर देखि १०-१५ मिनेटको दुरि समेत अन्य बेला धुलोले मान्छे नै चिन्न नसकिने हुने होकि र बर्षातको बेलामा हिलोले कहा लडिने हो ? पहिरोले र चिप्लोले गर्दा बिच बाटोमै स्कुटी छाडेर हिडेर जानु पर्ने होकि? वा हिडेर जान पनि नमिल्ने होकि ? सङग सङगै असार मसान्त कार्यक्रम समयमै भ्याउनु पर्ने, समयमा पुग्न सकिने हो कि होइन भनेर दैनिक चिन्ताको बिषय रह्यो । मेरो लागि यि समस्या आइपरे पनि सामान्य रुपमा लिए किनकि म स्वस्थ थिए हिडेर जान पनि सक्थे ।तर बास्तबिक चित्त त तब दुख्यो जब त्यहि पहिरोले गर्दा बाटो नखुलेको कारणले गर्दा पारिदेखि एकजना दाई आफ्नो पिढ्युमा बिरामी बोकेर आउनु भयो र २-३ घण्टा जति त्यसरी नै हिडेर बल्ल टक्सारसम्म उपचारका लागि पुर्याउनुभयो ।
दुइचार दिन पानी परेन । त्यसपछि केहि दिनमै फेरि उहि समस्या दोहोरियो रात भरिको बर्षातका कारण पहिरोले गर्दा बाटो बन्द भयो । बिहानै भएको हुनाले म आफ्नो बुबा सङग मिलेर स्कुटीसम्म जान मिल्ने बाटो बनाउदै थिएँ ।
त्यतिकैमा एकजना दाइ पनि त्यहि आइपुग्नु भयो र बाटो बनाउन सहयोग गर्नुभयो बुझ्दै जादा थाहा भयो कि उहाँ एकजना महिलाको रिमुवामा घरमै प्रसुति भएका कारण सिस्टरको सल्लाह अनुसार प्रसुति हुने बित्तिकै आमालाई १० मिनेट भित्र लगाउनु पर्ने सुइ (Injection oxytocin) पुर्याउन हिड्नु भएको रहेछ । मेरो घरसम्म मोटरसाइकल आइपुग्ने बाटो त हामिले बनायौं तर उहा पुग्ने ठाउसम्म जान अन्य ठुलो पहिरोले गर्दा सम्भव नभएर हिडेर उक्त इन्जेक्सन पुर्याउनु पर्यो । आज भन्दा मात्र १ बर्ष अगाडि अर्थात बि स २०७८ साल मा आएर पनि यो दृश्य देख्दा भने एकदमै नरमाइलो लाग्यो ।
अझै पनि मेरो पालिकामा घरमा प्रसुति हुन्छ । एक / दुइ जना होइन गत आ व २०७८/७९ को बैशाखसम्मको मलाई प्राप्त तथ्याङ्क अनुसार उक्त आर्थिक वर्षमा मात्र मेरो पालिकाका ६ वटा वडा मध्ये ५ वटा वडामा १० भन्दा बढि घरमा प्रसुति (Home Delivery ) भएका छन । अझै पनि बाल विवाह तथा कम उमेरमा (२० बर्ष नपुगी ) प्रसुति हुने महिलाहरु हुनुहुन्छ । अरुलाई समान्य लाग्न सक्छ तर एउटा स्वास्थ्यकर्मीको रुपमा हेर्दा यी एकदमै गम्भिर बिषयहरु हुन ।
स्वास्थ्यकर्मी तथा जन प्रतिनिधिहरुले प्रयास गर्नु भएको । तर यी समस्या सानो प्रयासले मात्र समाधान हुने समस्या होइनन् । अन्य कार्यक्रमको बेलामा यो बिषय नवनिर्वाचित प्रतिनिधि ज्यू सामु उठाए पनि यस बारे विस्तृत छलफल नहुदै ब्यक्तिगत कारणले गर्दा मैले पालिका छोड्नु पर्यो ।
हिजो साघुँरो बाटो तर हरियाली भएको बन जङगल, आज बाटो त पहिले भन्दा फराकिलो भएको छ तर अधिकांश जङ्गल पहिरोले पुरिएको छ ।
बलेटक्सार बजारको चोकको एउटा घरमा लेखिएको छ "विनाश बिनाको विकास" । यो भनाई देख्न त रुरुबासी सबैले देख्यौँ तर पालना कत्तिको गर्यौँ ?
घरमा प्रसुति, बाल बिवाह , कम उमेरमा विवाह र यी संग सम्बन्धित जटिलता, जनचेतना, शिक्षा, बाटोघाटो, एम्बेलेन्स सेवा लगायत सबै कुराहरु आजको भोलि समाधान हुने विषय त होइनन तर सबैको अझ बढि ध्यानाकर्षण हुन भने जरुरी छ । नवनिर्वाचित जनप्रतिनिधिहरुले पक्कै पनि एकदमै पहल गर्नु हुन्छ भन्ने पुर्ण बिश्वास पनि छ ।
भनिन्छ नि, समुन्द्रको वास्तविक गहिराई थाहा पाउन समुन्द्रमा आफै डुबेर हेर्नु पर्छ । त्यसरि नै दशैँतिहारको बेलामा मात्र आएर सुगम मानिरहेको मेरो गाँउ आफ्नो नजिकबाट हेर्दा र बुझ्दा प्रजनन स्वास्थ्य र यससंग सम्बन्धित अन्य विकासको आधारमा आज पनि धेरै पछि छ ।
- आरजु के.सी., गुल्मी
हाल: अस्ट्रेलिया
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology