काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् १९७७ मा प्रक्षेपण गरेको अन्तरिक्ष यान भ्वाएजर-१ पृथ्वीबाट करिब २५ अर्ब ९० करोड किलोमिटर टाढा पुगेको छ । यो दूरीलाई एक प्रकाश दिन भनिन्छ । मानव निर्मित कुनै पनि वस्तु अहिलेसम्म यति टाढा पुगेको छैन ।
प्रकाशले २४ घण्टामा पार गर्ने दूरीलाई एक प्रकाश दिन भनिन्छ । भ्वाएजर-१ यति टाढा पुगेपछि पृथ्वीबाट पठाइएको रेडियो सन्देश त्यहाँ पुग्न करिब २४ घण्टा लाग्छ । त्यहाँबाट जवाफ आउन पनि उत्तिकै समय लाग्ने भएकाले एउटा सन्देश आदानप्रदान गर्न करिब दुई दिन लाग्छ ।
सन् १९७७ सेप्टेम्बरमा चार वर्षे अभियानका लागि प्रक्षेपण गरिएको भ्वाएजर-१ ले सन् १९९८ मा नासाकै पायोनियर-१० लाई उछिन्दै मानव निर्मित सबैभन्दा टाढा पुगेको वस्तुको कीर्तिमान बनाएको थियो । यसको जुम्ल्याहा यान भ्वाएजर-२ पनि अन्तरिक्ष यात्रामा छ । दुवै यानले आफ्नो निर्धारित अवधि पार गरिसकेका छन् र अहिले सूर्यको प्रभाव क्षेत्रभन्दा बाहिर ताराहरूबीचको अन्तरिक्षको अध्ययन गरिरहेका छन् । भ्वाएजर-१ सन् २०१२ र भ्वाएजर-२ सन् २०१८ मा सूर्यको चुम्बकीय प्रभाव क्षेत्र हेलियोस्फियर पार गरेर बाहिरिएका थिए ।
लामो समयदेखि सञ्चालनमा रहेका यी यानलाई सक्रिय राख्न नासाले विद्युत् खपत घटाउने उपाय अपनाउँदै आएको छ । भ्वाएजर-१ का १० वैज्ञानिक उपकरणमध्ये अहिले दुईवटा मात्र सञ्चालनमा छन् । नासाले अनावश्यक उपकरण बन्द गर्ने, विद्युत् व्यवस्थापन परिवर्तन गर्ने र तापक्रम नियन्त्रण गरेर यानको सञ्चालन अवधि लम्ब्याइरहेको छ । यसको अभियान सञ्चालन गर्न करिब १० जनाको टोली सक्रिय रहेको छ ।
तर, यानको विद्युत् उत्पादन क्षमता घट्दै गएकाले सन् २०२९ सम्म भ्वाएजर-१ सँगको सम्पर्क टुट्न सक्ने अनुमान गरिएको छ । यसको जुम्ल्याहा यान भ्वाएजर-२ सँगको सम्पर्क पनि सन् २०३१ सम्ममा बन्द हुन सक्ने बताइएको छ । सन् २०२४ मा कम्प्युटरको एउटा चिपमा समस्या आएपछि नासाका वैज्ञानिकले पृथ्वीबाटै निर्देशन पठाएर यानलाई पुनः नियमित अवस्थामा फर्काएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology