काठमाडौं । आज हरितालिका तीज । आजको दिन हिन्दु नारीहरुले भगवान शिवपार्वतीको पूजा आराधना गरी निराहार व्रत बस्ने गर्दछन्।
यसरी आजका दिन उपासना गर्नाले सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ। आजका दिन व्रत गर्ने विवाहित महिलाहरुका श्रीमानहरु विधुर हुनु नपर्ने तथा अविवाहित नारीले आजको व्रत बस्दा अटल सौभाग्य र गुण सम्पन्न वर वा पाउने मान्यता रहँदै आएको छ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हिन्दू नारीहरुको महानपर्व तीजमा आजका दिन नारीहरू व्रत बस्ने, नाचगान गर्ने गर्दछन्।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।
महादेव स्वामी पाउने पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि सखीहरुलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ। सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजको व्रतको प्रचलन शुरु भएको मान्यता छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology