सुनवल । पश्चिम नवलपरासी सुनवल नगरपालिकास्थित अस्नैया आदर्श क्यापसमा नेकपा (एमाले) पश्चिम नवलपरासी जिल्ला कमिटी सदस्य विनोद पाण्डेलाई क्यापस प्रमुखमा नियुक्त गरिएको छ। बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका पराजित उम्मेदवार समेत रहेका पाण्डेलाई केहि दिनअघि क्याम्पस व्यवस्थापन समितिले क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
पाण्डेलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएकोमा क्याम्पसका अन्य कर्मचारीहरू समेत असन्तुष्ट बनेका छन् । नाम नखुलाउने शर्तमा नियमित अध्यापन गर्दै आएका शिक्षकहरूले शिक्षा ऎन र सामान्य अभ्यास विपरित गरिएको नियुक्तिले आफुहरूलाई दु:खी बनाएको र शिक्षणसंस्थामा यस प्रकारको अभ्यासले गलत नजिर स्थापित हुने बताएका छन् । राजनीतिक दलको सक्रिय सदस्यलाई कायम अभ्यास विपरित क्याम्पस प्रमुख पद 'उपहार'' दिईनु गलत रहेको उनीहरूको बुझाई छ ।
सोही विषयमा हामीले पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय अध्यक्ष शिवराज संजेलसंग जिज्ञासा राख्दा उनले क्याम्पसले आफ्नो कार्यविधि अनुसार योग्यता पुगेको व्यक्तिलाई नियुक्त गर्न सक्ने भएपनि नियुक्तिको प्रक्रियामा शिक्षा ऎन, वरिष्ठता, कार्यसम्पादन र निजको नेतृत्व क्षमता लगायतका विषय ख्याल गर्नुपर्ने बताए ।
यता क्यापस व्यवस्थापन समितीका अध्यक्ष कुल बहादुर बाठाको भनाइ भने फरक छ । आर्थिक अभावका कारण क्याम्पस बन्द हुने स्थितिमा आइसकेपछी पाण्डेलाई नियुक्त गरिएको उनले बताए । "क्याम्पसमा शिक्षकलाई नियमित तलब दिन सकिएन, त्यसैले अध्यापन गर्नुहुने सरहरुले छोड्दै जान लाग्नुभयो । अहिले क्याम्पसमा पढाउनलाई शिक्षक नै छैनन् । त्यसैले क्याम्पस केही चलायमान हुन्छ कि भनेर उहाँलाई क्याम्पस प्रमुख बनाईएको हो" अध्यक्ष बाठाले भने ।
यस विषयमा नवनियुक्त क्याम्पस प्रमुख विनोद पाण्डेले आफुले क्याम्पसको शैक्षिक विकासमा योगदान पुर्याउन सक्ने विश्वास सहित आफुलाई नियुक्त गरिएकोले सोहि अनुसार आफ्नो कार्यभार पूरा गर्ने बताए । आफ्नो नियुक्तिमा राजनीतिलाई नजोड्न र क्याम्पसको समग्र विकासमा सबैजना एकाकार भएर काम गर्न उनले अनुरोध समेत गरे ।
पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । शैक्षिक योग्यताका हिसाबले क्याम्पस प्रमुख पदमा उनको नियुक्ति सहि नै मान्न सकिएला । तर प्रत्यक्ष राजनीतिमा आवद्ध व्यक्तिले शिक्षा क्षेत्रमा सहजै नियुक्ति पाउँदा ती शिक्षण संस्थाहरू राजनीतिक भर्तीकेन्द्र जस्तो देखिने र कालान्तरसम्म पनि सोहि अभ्यास कायम हुँदै गएमा व्यवसायीक रुपमा शिक्षण पेशामा आवद्धहरूको योग्यता मै प्रश्न उठ्ने तर्फ सबैको ध्यान जानु जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology