काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र अवसरवादी प्रवृत्ति झांगिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपालको राजनीतिमा फैलिएको रोग आफ्नो पार्टीमा पनि सरेको उनको भनाइ छ । आज पार्टी निकट महिलाहरुको भेलालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले पार्टीमा मैले के पाएँ भन्ने सोच हामी भइरहेको बताए ।
उनले भने, ‘आफूले अवसर पाए छोइनसक्नु हुने, अवसर नपाए अनुहारै अँध्यारो पार्ने नेताहरु धेरै देखेको छु । पुरुषदेखि महिला, युवादेखि वृद्धसम्मा यस्तो प्रवृत्ति छ ।’ नेपालले थपे, ‘नेपालको राजनीतिमा फैलिएको यो रोग कम्युनिष्ट आन्दोलनमा सर्दै हाम्रो पार्टीभित्र पनि देखापर्न थालेको छ ।
पार्टीले सँधै अवसर दियो भने जिन्दावाद भन्ने, अवसर नपाउने जस्तो भयो भने तुरुन्तै अर्कोतिर हाम्फाल्ने र पार्टीको राजनीतिक जीवनै समाप्त पार्ने प्रवृत्ति देखिएको छ । यी सबै चिजबाट सजक र सतर्क हुनुपर्छ ।’उनले पार्टी संगठन अघि बढाउन विधि, प्रणाली, मापदण्ड तय गर्नुपर्नेमा जोड दिँदै योग्यता र कामको मूल्यांकन हुने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology