देवदह । नेकपा (एमाले) देवदह नगर अध्यक्ष परित्याग गरि प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका अधिवक्ता टिकाराम चापागाईंले आफ्नो चतित्र हत्या गर्न सामाजिक संजालको दुरुपयोग गरिएको बताएका छन् । बुधबार साँझ संचारकर्मीहरूसंग कुरा गर्दै उम्मेदवार चापागाईंले नक्कली फेसबूक एकाउन्टको प्रयोग गरेर आफ्नो चरीत्रहत्या गर्न खोजिएको बताएका हुन् ।
आफ्नो उम्मेदवारी कुनै राजनीतिक दल वा व्यक्तिको विरुद्धमा नभई आम मतदाताको जीतको लागि भएको बताउँदै उनले सामाजिक संजालको दुरुपयोग रोक्न अनुरोध गरे । आफू बैचारिक छलफलका लागि सधै तयार रहेको र जो कोहिले पनि आफुलाई भेटेर सुझाव सल्लाह दिन सक्ने बताउँदै उनले पर्दापछाडि लुकेर कसैलेपनि व्यक्तिको चरीत्रहत्या गरिनु गलत भएको बताए ।
त्यसैगरी उनी निकट युवाहरूले आफ्ना नेताको चरीत्रहत्या सहन नसकिने बताउँदै निर्वाचन आयोग र साईबर ब्यूरोमा उजुरी दिईने बताएका छन् । सेतोमसीसंग कुरा गर्दै चापागाईंको सचिवालयका संयोजक माधव अर्यालले चापागाईंको उम्मेदवारीले अत्तालिएकाहरूले यस प्रकारका गतिविधि गरिरहेको बताए । उनले भने, 'सामाजिक संजाललाई हामीले नियालिरहेका छौँ, जनतामाझ जाने र आफ्ना कुरा राख्ने क्षमता नभएकाहरूले गरेका गतिविधि विरुद्ध कानुनी कदम चालिनेछ ।'
यस विषयमा निर्वाचन अधिकृतको कार्यालय देवदहका प्रमुख श्याम श्रेष्ठले यसप्रकारको गतिविधिमा निर्वाचन आचारसंहिता र साईबर कानुन समेत आकर्षित हुने बताउँदै त्यस प्रकारका गतिविधि रोक्न अनुरोध गरे ।
यसअघि एमाले नेतृ समेत रहेकी देवदह नगरपालिकाका उप-प्रमुख विद्यालक्ष्मी गुरुङको विरुद्धमा लेखिएका समाचार लिंक र टिप्पणीहरू शेयर गरिएको 'देवदह न्यूज' नामको उक्त एकाउन्टबाट केहि दिनदेखि चापागाईं विरुद्ध स्टाटसहरू पोस्ट भैरहेको देख्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology