रमेश बहादुर सिंह, बझाङ । लामो समय पानि लागेर दुई दिनदेखि मौसम खुल्न थालेपछि किसानलाई धान भित्र्याउने चटारो शुरु भएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपछि किसानहरुलाई धान काटेर भित्र्याउने चटारो शुरु भएको छ ।
अहिले अरु काम छाडेर पनि धान भित्र्याउने काममा लागेको देवलका किसानहरु बताउँछन् । जयपूथ्बी नगरपालिका वडा ९देवलका मिलन खडकाले धान पाकिसकेकोले मौसम खुलेपछि अरु काम थाती राखेर पनि धान काट्ने काममा लागेको बताउँछन् । दुईदेखि राम्रो मौसम र घाम लागेकोले सबै परिवार मिलेर धान काटिरहेको उनी बताउँछन् । तर उनलाई यो पनि डर रहेको छ कि कतै फेरि पानी परेर काटेको धान पनि स्वाह गर्ने हो कि भन्ने त्रास भने कायमै छ ।
वर्षभरिको खेतीलाई स्याहार्न नपाइ पुनः पानी पर्ने हो कि भन्ने चिन्ता यथावत् रहेको बताउँदै अर्का किसान भुवनले आकाशे पानीको फाइदा र बेफाइदा दुवै रहेको बताउँछन् । खेतमा धान काट्दै आकाशतिर ध्यान लगाउनुपरेको उनको भनाइ छ ।
जयपूथ्बी नगरपालिका –३पडेसका पदिप मलासिले आकाश सफा देखेर धान काट्न शुरु गरेको बताउँछन् । उनले भने, ‘अब फेरि पनि पानी पर्ने हो भने बचेको धान रहन्न, धान काट्दै गर्दा धानको अम्छो (मुठी) सँगै आँखा आकाशमा छन् ।’ लामो समयदेखि परेको अविरल वर्षाले जयपूथ्बी, बुगल, केदास्यु आदि क्षेत्रमा बाढी र डुबानले धान खेतीमा क्षति पुरयाएको छ । धान पुरेर बलौटे माटोले ढाकेको छ । अग्लो र उँचो स्थानको खेतमा पनि धान ढलेपछि बोटमै कुहिने र उम्रिने गरेको किसानहरुको भनाइ छ ।
धेरै लामो समयदेखि खेती किसानी काम गर्दै आएका जयपृथ्वी नगरपालिका वडा नं. १ का किसान तथा समाज सेवी खड्क खड्का भन्छन्, ‘यता किसानलाई धन काट्नुको चटारो रहेको छ भने उता नेताहरुलाई आफूले कसरी जित्ने भनेर चुनावी चटारो रहेको छ । आफू त परियो पक्का किसान, पहिले कृषि कार्य त्यसपछि नेतागिरी ।’ कुरा गर्दै जाँदा अलि निराश हुँदै उनी भन्छन्, ‘मैले निकै मेहिनेत गरेर टमाटरको खेती गरेको थिए तर यो ५/६ दिनको अविरल वर्षाले सबै टमाटरका बोटहरु नष्ट गरयो, गाउँमा धेरैले टमाटर लगाएका थिए कसैको बचेन, यसपालि धेरै घाटा व्यहोर्नु परयो, यता किसानको मर्का कसले बुझिदिन’ उनी दुःखेसो पोख्छन् ।
हाल अहिलेसम्म बाढि र पहिरोले कति क्षति भयो भनेर सरकार र स्थानीय निकायबाट बाढी र डुबानले धानखेती र अन्य ठाउँमा पुरयाएको क्षतिको पूर्ण विवरण आउन भने सकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology