कविता : बाहुनको छोरो
गर्भभित्र बाटै लिएर आएको छु मैले
रुप, गुण, धन र विद्या
जन्मिदै सप्पन्न छु म ।
टुप्पी निदालमा बांधेर पढेको
७० प्रतिशत नम्बर ल्याउँदा पनि
४० प्रतिशत ल्याउने जनजातीसंग हारेको
म बाहुनको छोरो ।
चुहिने छानो र टालेको भित्तोमा बसेर
६ डोरो जनै र चुच्चो नाकले पिसिएको
जनजातिको बस्तिमा हेपिएको
लुते भएकै कारण भिडभाडमा चेपिएको
म बाहुनको छोरो ।
मुठ्ठिभर धनी बाहुनले मोज गर्दा
गाली खाने म गरिब बाहुन ।
काठा र चुच्चेको सित्तैमा उपमा भिरेर
ङिच्च हाँस्दै गरेको
म बाहुनको छोरो ।
दलित भन्दा उपेक्षित
जनजाती भन्दा पिछडिएको
ख्याउटे शरिरमा ॠणको भार लिएर
साम्भ्रान्त जातिको तक्मा भिरेको
म बाहुनको छोरो ।
पेट पाल्न खाडी बेचिएको
घर धान्न कुल्ली गरेको
परम्परा धान्न पुजापाठ गर्दै गरेको
सामन्ती बाहुनको ट्याग भिरेर
मुस्कुराईरहेको म बाहुनको छोरो
म बाहुनको छोरो ।
- रामचन्द्र तिम्सिना(आवाज)
म्यागङ ५ सामरी ,नुवाकोट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology