रमेश बहादुर सिंह, बझाङ। देशैभरी चुनाव र चार्डपर्बको चहलपहल छ । दशैं सकियो तिहार आज विदा हुँदैछ । तिहारमा दिदिबहिनीको हातबाट टीका र माला लगाउने दाजुभाइहरूको आवतजावत बाक्लै छ । यता देउसीभैलो मात्रै होइन, जुवातासको रमाइलोमा झुम्नेहरूको पनि कमि छैन । तर यहीँ समाजका, यहीँ संस्कार र संस्कृति मान्ने मजदुरहरूलाई भने साँझ-बिहान कै पिरलो छ । उनीहरू सधैँ झै गिट्टी कुटिरहेका छन् ।
हो, बझाङमा गिट्टी कुट्ने मजदुरहरू एक छाक टार्नकैलागि दशैँ तिहार बिर्सिन बाध्य छन् । परिवारको भेट पाल्नकै लागि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म दैनिक वाउलिगाड नदीको किनारमा उनीहरू गिटी कुटिरहेका छन्। उनीहरुलाई चाडपर्व आएको वा गएको कुनै पनि महसुस हुदैन । मात्रै एउटै पिरलो हुन्छ, 'आफ्ना स-साना बाबुनानीहरूलाई कसरि पालन पोषण गर्ने !'
तिहारको दिन गिट्टी कुटिरहेकी सुर्मा गाउँपालिकाकी जानकी बोहोरा भन्छिन्, "घरमा लगाएको अन्नबालिले एक-दुई महिना बाहेक खानलाई पुग्दैन । अन्य कुनै पनि रोजगारको काम नभएकाले दैनिक गिटी कुट्ने काम गर्दै आएका छौँ । हामीलाई तिहार आउने र जानेसंग खासै मतलब हुँदैन ।" थोरै मात्र जमिन भएको र त्यहि जमिनमा घर बनाएपछि तरकारी समेत लगाउनको लागि जमिन नभएको गुनासो गर्दै उनीहरू दैनिक मजदुरी गरेर तेल, चिनि, तरकारी लगायतको खर्च चलाउनुपर्ने बाध्यता रहेको बताउँछन् ।
दशैं-तिहारले खुसी होइन झन् पीडा थप्ने बताउँदै सोही स्थानमा गिट्टी कुट्ने अर्की मजदुर महिला भगवती विक पनि दशैँ-तिहार नै आफुहरूलाई दशा र पिरलो हुने बताउँछिन् ।उनी भन्छिन्, 'चार्ड पर्व नै दशा हुन्छ हामीलाई । पर्वमा अन्य समयमा भन्दा धेरै बालबालिकालाई के दिने र के गर्ने भन्ने पिरलो हुन्छ ।'
गरिव दु:खीलाई सहयोग गर्ने संघसंस्थाहरू पनि हुन्छन् भन्ने सुनेको तर आफुहरूलाई कुनै पनि संघसंस्था र स्थानीय सरकारले समेत नहेरेको उनीहरूको गुनासो छ। उनीहरू दैनिक गिटी कुटेर एक ट्रली बनाए वापत ६ हजार कमाउँछन । सोहि पैसाले उनीहरू केटाकेटी पढाउनेदेखि घर खर्च चलाउनेसम्मको सबै खर्च गुजारा गर्छन् ।
यहाँ गिट्टी कुट्ने अधिकांश महिला छन् । घरमा सबै बेरोजगार भएकाले परिवार पाल्नु नै निकै समस्या हुने गरेको र श्रीमान पनि परिवार पाल्नकै लागि भारतमा गएर मजदुरी गर्ने गरेको उनीहरूको भनाइ छ ।
दशैं-तिहार मनाउँन सबै आफन्तसंग भेटघाट गर्न र परिवारसंग रमाउँदै सुखदुःख साटासाट गर्न रहर कसलाई हुँदैन र? तर ती सबै रहर गिट्टीसंगै फुट्छन र पेट पाल्नकैलागि बर्षैभरी जोतिन्छन वाउलिगाडमा गिटी कुट्ने महिलाहरू ।
के मंसिर-४ मा हुँदै गरेको निर्वाचन र त्यसपछि आउने राज्यको नयाँ नेतृत्वले यिनीहरूको मुहारमा खुसी दिन सक्ला? या यिनिहरूको वि. सं. २०८० को दशैं-तिहार पनि यसैगरी बित्ला ?
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology