काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डन्डिबियो, गुच्चा, खोपी, पिटु जस्ता नेपालका परम्परागत खेललाई अन्तर्राष्ट्रियकरण गर्ने घोषणा गरेको छ ।
आगामी निर्वाचनका लागि आज (बिहीबार) सार्वजनिक गरेको वाचा पत्रमा पार्टीले डन्डिबियो, गुच्चा, खोपी, पिटु जस्ता नेपालका परम्परागत खेलहरुको अन्तर्राष्ट्रियकरण गर्न अध्ययन र अभ्यास गरिने उल्लेख गरेको छ । अन्य राजनीतिक पार्टीले भन्दा फरक तरिकाले खेलकुदलाई बाचा पत्रमा समावेश गरेको स्वतन्त्र पार्टीले खेलकुद विश्वविद्यालय स्थापना, अन्तर्राष्ट्रिय स्तरका रंगशालासम्म बनाउने योजना पनि सार्वजनिक गरेको छ ।
हरेक वडामा कम्तिमा एउटा खेल मैदान बनाउने वाचा गरेको उसले खेलकुदलाई नेपाली जीवनको अभिन्न अंग बनाई विश्व मानचित्रमा स्थापित गराउने समेत उल्लेख गरेको छ ।
खेलकुदको शक्ति- स्वस्थ जीवन, आत्मियता अनी राष्ट्रभक्ति भन्ने शीर्षकमा स्वतन्त्र पार्टीले खेलकुदको विषयमा मात्रै पाँच बुँदा उल्लेख गरेको छ ।
यी हुन् स्वतन्त्र पार्टीका खेल सम्बन्धी वाचाका ५ बुँदा
१ ‘नेपाल खेलकुद विश्वविद्यालय’ स्थापना गरी खेल सम्बन्धी सम्पूर्णविषयको अध्ययन अध्यापन गराई दक्ष खेलाडी, प्रशिक्षक, प्राविधिक लगायतका जनशक्ति उत्पादन गर्ने तथा पालिकादेखि राष्ट्रिय तहसम्मका सबै उमेर समूहका प्रतिभालाई खोजी खोजी ल्याउने, तालिम दिने, आर्थिक व्यवस्थापन मिलाउने तथा वृत्तिविकासको बन्दोवस्त गर्ने व्यवस्था गरिनेछ ।
२. २ वर्षभित्र सबै उमेर समूहलाई उमेर अनुसार सक्रिय राख्न प्रत्येक वडामा ६ हजार ७ सय ४३ खेलमैदान, पार्क जस्ता केन्द्रहरु निमार्ण गरिनेछ ।
३. प्रत्येक प्रदेशमा भलिबल, क्रिकेट, फुटबल, मार्सल आर्ट्स् जस्ता खेलहरु खेल्न सकिने गरी बहुउद्देश्यीय अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण गरिनेछ । यसका साथै हरेक पालिकामा मिनि रंगशालाको निमार्ण गरिनेछ ।
४. डन्डिबियो, गुच्चा, खोपी, पिटु जस्ता नेपालका परम्परागत खेलहरुको अन्तर्राष्ट्रियकरण गर्न अध्ययन र अभ्यास गरिनेछ ।
५. सहकारी मोडल अबलम्बन गरी फुटबल, क्रिकेट जस्ता खेलको राष्ट्रिय लिगलाई व्यावसायिक बनाइनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology