देवदह । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो पार्टीले निर्वाचन जिते प्रतिबद्धता अनुसार काम नगर्ने दल र उम्मेदवार विरुद्ध अदालत मुद्दा चलाउन पाउँने व्यवस्था गर्ने जनाएको छ । मंगलबार देवदहमा पत्रकारसंग घोँषणा पत्र र उम्मेदवारविचको अन्तरक्रियामा बोल्दै सो पार्टीका केन्द्रिय अनुगमन विभाग संयोजक दलबहादुर बिरकट्टाले दल र उम्मेदवारले बोलेको कुरा पूरा गर्न बाध्यकारी व्यवस्था गर्नुपर्ने बताए ।
पार्टीको केन्द्रिय घोँषणा पत्र र दलका समानुपातिक र स्थानीय प्रत्यक्ष उम्मेदवारहरू सम्मीलित उक्त अन्तरक्रियामा बोल्दै नेता बिरकट्टाले राजनीतिक दलका नेताहरूमा निर्वाचन जित्न अनेक प्रतिबद्धता सार्वजनिक गर्ने तर जितेपछि कार्यान्वयनमा ध्यान नदिने प्रवृत्ति बढ्दै गएको बताए ।
भ्रष्टाचार देशको मुख्य समस्या रहेको र त्यसलाई नियन्त्रण गर्न भ्रष्टाचारीलाई राजद्रोहसरह मुद्दा चलाउने र भ्रष्टाचारीलाई आजिवन कारावासको सजाय सहित सर्वस्वहरण गरिनुपर्ने जनमुक्ति पार्टीले जनाएको छ । सबैतहको शिक्षा र स्वास्थ्य सेवा निशुल्क गर्नुपर्ने विचार अघि सारेको जनमुक्तिले कृषि, पर्यटन र विद्युतलाई आर्थिक आर्जनको मुख्य क्षेत्र बनाउनुपर्ने जनाएको छ ।
निर्वाचन महंगो बन्दै गएको र प्रत्यक्ष निर्वाचित प्रणालीबाट समानुपातिक प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।
त्यसैगरी काठमाडौंको ऎतिहासिकतालाई जोगाउन देशको बैकल्पिक राजनीति तयार गर्नुपर्ने विचार अघि सारेको जनमुक्तिले विभिन्न मन्त्रालयहरू बनाएर सबै समुदायको भाषा, धर्म, संस्कृतिको रक्षा र विकास गर्नुपर्ने जनाएको छ ।
साथै जनप्रतिनिधिहरूले तलब सुविधा नलिने व्यवस्था गरिनुपर्ने धारणा समेत उक्त पार्टीले अघि सारेको छ ।
अन्तरक्रियामा बोल्दै पार्टी नेताहरूले जनमुक्ति पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology