हिमाली मूल आदिवासी गुरुङहरुको मुख्य छ वटा पर्वहरु रहेका छन् । त्यस मध्ये पहिलो ल्होसार (गुरुङहरुको नयाँ बर्ष), दोश्रो माङी त्हीं (सात माताहरुको उत्पत्ति एवम् पारिवारिक सम्बन्ध कायम भएको दिन) क्रमशः तेश्रो में त्हलेंत्हिं(धनुषविद्या पर्व), फुताँसो त्हिँ (विधानसभा अर्थात् विधान दिवस पर्व), खेकु त्हें (नौ महागुरुहरुको उत्पत्ति दिवस) अर्थात् गुरुपूजा र ह्यूला च्युपा त्हीं (नयाँ मुलुक स्थापना दिवस) छन् । यी पर्वहरुमध्ये त कतिपय प्रायः लोप हुनै लागेको अवस्थामा पुगिसकेको छ भने कतिपय थाहा हुँदाहुँदै पनि बेवास्ता भइरहेका छन् । यहाँ उक्त छ मुख्य पर्वहरु कुन समयमा कसरी मनाइन्छ भन्ने बारेमा संक्षिप्त रुपमा चर्चा गरिएको छ । यसको अतिरिक्त ट्होंटे, स्योरी त्हीं, घरपरिवारको रक्षा तथा ग्रह शान्तिको लागि चैत महिनामा गरिने त्हें, हिउदें बाली रक्षा गर्ने त्हें, वर्षे बाली रक्षा गर्ने त्हें आदि पनि गुरुङ समुदायका मुख्य पर्वहरु हुन् । यिनै पर्वहरुको संक्षिप्त परिचय दिने काम यस लेखको रहेको छ ।
ल्होसार (नयाँ वर्ष दिवस)
ल्होसार गुरुङहरुको प्रथम सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो । यो दिन गुरुङहरुको नयाँ बर्ष प्रारम्भ हुने दिन हो । हरेक गुरुङहरुको यसै दिनबाट वर्ग फेरिन्छ । ल्हो ‘वर्ग’ र सार ‘फेरिने’ अर्थात् ल्होसार वर्ग फेरिने नयाँ दिन । यो पर्व विक्रम सम्वत् अनुसार पुसा १५ का दिन मनाइन्छ । यो पर्व प्राकृतिक, आध्यात्मिक तथा भौगोलिक हिसाबमा आधारित छ ।एउटै शब्दमा भन्ने हो भने १५ पुष सबैभन्दा लामो रात हुने दिन हो, र १६ पुष देखि रात छोटो, दिन लामो र जाडो कम हुँदै जाने दिन पनि हो । यसैले प्रकृतिको हिसाबले पनि यो पर्व अति महत्वपूर्ण रहेको छ ।
ल्होसारका दिन सबै गुरुङहरु बिहानैदेखि क्होईबुमा जम्मा हुन्छन् र १२ ल्होको पूजा गरी पुरानो ल्होको बिदाई र नयाँ ल्होको स्वागत गर्दछन् । आफ्नो ग्रह शान्ति गर्दछन् । दिउँसो ल्होसार सम्बन्धी प्रवचन कार्य हुन्छ र साँझ दीपावली गरी रातभरि नाचगान र रमाइलो गरी जाग्राम बस्दछन्, अनि भोलिपल्ट परम्परागत बिदाई कार्यक्रम गरेपछि ल्होसार पर्व समाप्त गरिन्छ । तर ल्होसार आउनुभन्दा एक दिन अगाडि देखि सबै गुरुङहरुले आ–आफ्नो घरमा दीपावली गरी पुरानो ल्होको बिदाई र नयाँ ल्होको स्वागत कार्यक्रम गरी मीठा–मीठा व्यञ्जनहरुका साथ रमाइलो वातावरणमा दिन बिताउँछन् । विशेषगरी गुरुङहरुले आस्यों मान्ने परम्परा पुष १ गतेदेखि १४ गतेसम्म र १५ पुषका दिन क्होईबो (गुम्बा) मा जम्मा भई सामूहिक ल्होसार मनाएपछि समाप्त हुने गर्दछ । तर पछि आएर (नेपालमा हिन्दु धर्मको राजकीय संरक्षण र राणा शासनको प्रारम्भ पछि) ल्होसारको समयमा नगरी दशैंको समय पारेर आस्यों मान्ने चलन गराइएको थियो । आजकाल पुनः आफ्नै परम्परा अनुसार दशैंको समयमा आस्यों नमानी ल्होसारकै समयमा (पुष १ गते देखि १४ गतेसम्म) आस्यों मान्न थालिरहेका छन् र देश विदेशमा रहेका गुरुङहरु ल्होसारको समय पारेर छुट्टीमा घर आउने प्रयास गरिरहेका छन् ।
गुरुङहरुको पवित्र महाग्रन्थ केर्लो (श्रृष्टि सम्बन्धी वेद) अनुसार हिमालको काखमा नौ महागुरुको उत्पत्ति पछि तिनै नौ महागुरुहरुले अग्नी, वायु, जल, थल, आकाश र पातलको सन्तुलन मिलाए । त्यसपछि वनस्पति जीव आदिको श्रृष्टि गरिसकेपछी मानवको श्रृष्टि गरे । नौ महागुरुहरुले निम्न बमोजिमका १२ गुरुहरुको श्रृष्टि गरे, जसलाई हामी १२ गुरु खे भन्दछौंर यि बाह्र गुरु खेहरुलाई १÷१ ल्हो दिएर ल्होसारको प्रारम्भ भयो ।
१. क्होसी करुरी क्ह्याल्बु क्ह्याल फैलु तो ल्हो बाघ वर्ग
२. प्लहरुरी क्ह्याल्बु क्ह्याल फैलु ही ल्हो बिरालो वर्ग
३. प्ह्रेकाचिरी क्ह्याल्बु क्हयाल फैलु मु प्ह्री ल्हो गरुड वर्ग
४. ठूं च्ड्ढहावर ल्हें फैलु सप्ह्री ल्हो नाग वर्ग
५. ठूं म्हेवर ल्हें फैलु त ल्हो घोडा वर्ग
६. ठूं सिरा ल्हें फैलु ल्हु ल्हो भेडा वर्ग
७. ठूं यौते ल्हें फैलु प्र ल्हो बाँदर वर्ग
८. ठूं विसों मैं ङो फैलु च्या ल्हो चरा वर्ग
९. ताडे मनि ह्योंकारी ह्यों फैलु खि ल्हो कुकुर वर्ग
१०. च्योंडे मनि ह्योंकारी ह्यों फैलु फो ल्हो मृग वर्ग
११. ताडे मनि क्होकारी क्हो फैलु च्यू ल्हो मुसा वर्ग
१२. च्योंडे मनि क्होकारी क्हो फैलु लों ल्हो गाई वर्ग
उपरोक्त १२ गुरु खेहरु को ल्हो को आधारमा हामी ल्हो गणना गरी आफ्नो ज्योतिष शास्त्रको कार्यहरु गर्दछौं । त्यसैको प्रारम्भ दिनलाई शुरु मानि ल्होसार मनाउँदछौं र यसपछि नौ महागुरुहरुले संसारमा मानव श्रृष्टी गराउन यसै हिमालयको काखमा माँङी (सातकन्या) उत्पन्न गराउनु भयो, जसको संक्षिप्त वर्णन माँङी त्हीं (मातृ स्मरण दिवस पर्व) मा गरिन्छ ।
- लेखक बालनरसिंह गुरुङ, गुरुङ भाषा तथा संस्कृति विज्ञ हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology