काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन। ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका हुन ।
उनले सन्देशमा भनेका छन, “एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताएका छन ।
“हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौँ”, उनको सन्देशमा भनिएको छ । समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि आ–आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology