राजेश पराजुली, गण्डकी प्रदेश चितवनको मुग्लिन बजारमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । इच्छाकामना गाँउपालिका ५ मुग्लिन बजार स्थित पुरानो पुलको छेउमा निर्माण गरिएको चार्जिङ स्टेशन सञ्चालनमा आएको हो । यो सहित जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण भएर सञ्चालनमा आएका छन् ।
भरतपुरको केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिए । एउटा स्टेशन निर्माणका लागि ७५ लाख खर्च भएको छ । एउटा स्टेशनमा एकपटकमा तीन वटासम्म गाडी चार्ज गर्न मिल्छ ।
आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माण गरिएको इञ्जीनियर ज्ञवालीले बताए । जिल्लामा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेशन निर्माण गरिएको चार्जिङ स्टेशन निर्माणको जिम्मा पाएको दिगोका प्रोजेक्ट म्यानेजर शिव अधिकारीले जानकारी दिए । उनका अनुसार यहाँ साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्छ ।
नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ । चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि दुई सय केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सक्नेछन् । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन ।
चार्जिङ स्टेशनमा मोवाइल एपलिकेशन एनइए चार्ज डाउनलोड गर्नुपर्ने हुन्छ । कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । बिहान ५ देखि साँझ ५ बजेसम्म आठ रुपैयाँ २८ पैसा प्रतियुनिट, बेलुका ५ देखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा प्रतियुनिट र राति ११ देखि बिहान ५ बजेसम्म छ रुपैयाँ छ पैसा चार्ज शुल्क तोकिएको अधिकारीले जानकारी दिनुभयो ।
चार्जिङ स्टेशनको सुरक्षाका लागि सिसिटिभी समेत जडान गरिएको छ । प्राधिकरणले देशभर ५१ चार्जिङ स्टेशन निर्माणको लक्ष्य राखेर काम गरिरहेको छ । जसमा १३ वटा सञ्चालनमा आइसकेका छन् भने ४१ वटा जडान सम्पन्न भइसकेका छन् । बाँकी चार्जिङ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको प्रधिकरणले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology