कविता : फेरिने छन् चुनावी नाराहरु
अब सुर्य होईन आकाशमा तारा उदाउनेछ
चमकदार उज्यालोमा शितलता छाउनेछ
हेर्दै जानुस महोदय
अब चुनावी नारा पनि फेरिनेछ
चुलोमा ग्याँस होईन ओछ्यानमा अक्सिजन ल्याईनेछ।
कति सजिलै भन्नेछन शासकहरुले अब यहाँ
एकहातमा मतपत्र अर्को हातमा खोप लगाईनेछ ।
अस्पतालको शैयामा फहराइनेछ पार्टीका रंगिचंगी झण्डाहरु
रोपिनेछ पाखो पखेरा भरी मास्कका बोट-बिरुवाहरु
गाउँगाउँमा खनिनेछ सेनिटाइजरका ठुला-ठुला पोखरीहरु
हेर्दै जानुस महोदय
हरेक नेपालीको हातमा पासपोर्ट थमाएर बिदेश पठाइनेछ
हरेक बिहारीको हातमा नागरिकता थमाएर भोट खसाइनेछ ।
आशा लाग्दा पार्टीहरुको लोभ लाग्दा घोषणापत्र हुनेछ ।
झण्डा थमाइनेछ र भनिनेछ गरिबी हटाईदैछ
एमबिसिको निमन्त्रणामा बियर पार्टी हुनेछ
हेर्दै जानुस महोदय
बालुवाटारमा जश्न झोपडीमा आगो झोसिनेछ ।
नाम मात्रको नेपाल भारतिय प्रान्त बनाइनेछ।
खल्ती मिडिया बज्नेछ आ-आफ्नै हिरिकृतन गाएर
उचालिनेछ पछारिनेछ सडकमा टायर बालिनेछ
भुत्ला उखेलेर भेंडाहरुलाई कम्बल बाँढिनेछ
हेर्दै जानुस महोदय
अर्को मध्यावधि सम्म सयौं थुंगा बिर्साइनेछ
बन्दे मातरम घोकाइनेछ।
बन्दे मातरम घोकाइनेछ।
✍️ रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology