काठमाडौं । नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।
बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।
मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले डा. रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिए ।
यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर (झन्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), गोल्ड मेडल र प्रमाणपत्र आगामी फेब्रुअरी महिनामा प्रदान गरिनेछ।
यो चार वर्षका लागि मंगलबार घोषणा गरिएको अवार्डका लागि सुरुमा १४५ जना व्यक्ति तथा संस्था नोमिनेसनमा परेका थिए । वैज्ञानिक, प्राध्यापक, पूर्वराजनीतिज्ञ लगायतका प्रतिष्ठित व्यक्तिहरूको छनोट समूहले उनीहरूमध्येबाट डा. रुइतलाई छनोट गरेको हो । १४५ जना/ संस्थाको सूचीबाट ६ जना/ संस्थालाई सर्टलिस्ट गरिएको थियो । जसमा अमेरिकास्थित परोपकारी संस्था मर्सी शिप, बंगालादेशको फ्रेन्ड्सशिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्वीटजरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेशन र नेपालका सन्दुक रुइत थिए । तीमध्ये रुइतलाई छनोट गरिएको हो ।
डा. रुइत आफ्नो पालामा एमबीबीएसमा शल्यक्रियामा गोल्ड मेडलिस्ट हुन् । उनले सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार पाएका थिए । सन् २०१८ मा भारत सरकारले पद्मश्री सम्मानबाट उनलाई सम्मानित गरेको थियो । अन्धोपन निवारणसहित सयौं व्यक्तिको दृष्टि फर्काउन भूमिका खेलेबापत २०७२ मा भुटानको उच्च सम्मान नेशनल अर्डर अफ मेरिट प्राप्त गरेका थिए । साथै २०७५ सालमा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पदक पाएका थिए ।
मंगलबार डा. रुइतका नाममा घोषणा भएको इसा अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology