काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा पार्टीका सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीका सांसद सोविता गौतम प्रस्तावक रहनुहुने भएको छ ।
‘इन्दिरा रानामगरलाई पठाउने निर्णय गरेका छौँ । जसको प्रस्तावक सोविता गौतम बसेर राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नै चिनेको मान्छे उनको विज्ञतालाई उजागर गरेर उनलाई पठाउने निर्णय गरेको छ । पार्टीले सर्वसम्मत रुपमा निर्णय गरेको हो । अल्पमतमा होइन ।’’ झापाका मगर समानुपातिक सांसद हुनुहुन्छ । उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भए पनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानुन बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताए ।
त्यस्तै, सांसद इन्दिरा राना मगरले भने आफूले कानुनको अध्ययन नगरेको भए पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको जानकारी दिए। ‘म यो क्षेत्रमा देशमा केही परिवर्तन गरौँ भनेर आएको हो । म प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अवार्डहरु दाबी गरिरहेको मान्छे हो । कानुन नपढे पनि जेलदेखि बालबालिका, मानव अधिकारका थुप्रै क्षेत्रको अनुभव ३३ वर्षमा गरेको छु ।’’ उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ, आज (शुक्रबार) उपसभामुखको उम्मेदवारी दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएसँगै प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन बैठक बसिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology