देवदह । देवदह नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणको अभियानलाई तिव्रता दिएको छ । नगरभित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण रोक्ने गरी अभियानलाई तिव्रता दिईएको नगर प्रवक्ता तथा देवदह–५ का वडाअध्यक्ष गणेश डुम्रेले जानकारी दिए ।
सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान अन्तरगत देवदह नगरपालिका–५, शान्ति पार्कको अतिक्रमित जग्गा सहमतिको आधारमा फिर्ता गरिएको छ ।
देवदह–५, शान्ति पार्कको करिव १० कठ्ठा जग्गा सहमतिको आधारमा फिर्ता गरिएको नगर प्रवक्ता डुम्रेले बताए ।
देवदह नगरपालिका प्रमुख धुर्बप्रसाद खरेल, नगर प्रवक्ता गणेश डुम्रे, वडा स्तरीय भुमी सहजीकरण समितिका डिल्लीराम सापकोटा, दुर्गा प्रसाद बस्याल, कृष्ण हरि सापकोटा, कोलिय शान्तिपार्क अध्यक्ष बिमला देबि दर्लामी, टोल वकास संस्थाका अध्यक्षहरु बलराम शर्मा, शिव केसि, कोलिय शान्ती टोल विकास सचिव सुजन थापामगर र स्थानीय बासिन्दाहरुको भेलाबाट सहमति मै जग्गा फिर्ता गरिएको प्रवक्ता डुम्रेको भनाई छ। सहमति अनुसार उक्त जग्गा कोलिय शान्तिपार्कको मातहत रहने छ।
विगत लामो समयदेखि शान्ति पार्कको सार्वजनिक जग्गा अतिक्रमण भएको थियो । देवदह नगरपालिकाले शान्ति पार्कदेखि उत्तरबाट रिङ्गरोडको अवधारण अगाडि सार्दै बाटो निर्माणको काम शुरु गरेपनि पछिल्लो समय काम रोकिएपछि स्थानीयवासीले बाटोको जग्गा अतिक्रमण गरी खेती गर्दै आएका थिए ।
सेतोमसीसंग कुरा गर्दै प्रवक्ता डुम्रेले सार्वजनिक जग्गा संरक्षण अभियान देवदहमा सुरुवात भएको र अभियानमा सम्पूर्ण देवदहबासीको साथ र सहयोग रहने विस्वाश व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology