दुश्मनसामु
कहिल्यै झुकेन तिम्रो शिर
कुनै बाधा अबरोधले
रोक्न सकेन तिम्रो यात्रा,
रक्तछर्राले
तिम्रो देह छियाछिया हुँदा पनि
अहँ ! डगमगाएन तिम्रो देशभक्ति,
अन्तिम श्वास चल्दासम्म
लडिरह्यौ निडरताका साथ
परिवर्तनको बिगुल फुक्दै
तिम्रा पाइला अघि बढिरहे
तिम्रै रगतले
देशको माटो भिज्यो
खेतका गरा भरिए ।
भरिँदै थियो परिवर्तनको बगान पनि
जब मोड आयो परिवर्तनको
ठीक त्यति नै बेला
तिमी सहिद बन्यौ ।
हो,
तिमी अमर भयौ
तर बिडम्बना
देशका लागि, माटोका लागि
तिमीले गरेको त्याग र बलिदानले पनि
फेरिएको छैन, देश
पूरा भएन तिमीले देखेका सपना
बन्न सकेन तिमीले देखाएको बाटो सुन्दर,
उस्तै छ देशको अवस्था
उसैगरी छ तिम्रो सालिकमा माला ,
सहिदको बलिदानको नाममा
एक मिनेटको मौनधारण गर्दै
गरिने देखावटीले
उस्तै दलाली खेतीले
तिम्रा सपनाका गराहरूमा
सिँचाइ गर्ने उत्कट चाहाना भने मरेको छैन
मेरो शहिद ।।
सुनिता प्रतिबिम्ब
बुटवल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology