देवदह । देवदह नगरपालिकास्थित देवदह मण्डपमा सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सव २०७९ सुरु भएको छ ।
उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्नेछ । देवदहमा २०७१ साल देखि नियमित रुपमा महोत्सव लाग्दै आएको छ । यो देवदह महोत्सवको सातौं संस्करण हो । महोत्सवको बिहिवार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गरे ।
देवदह र सुनवल क्षेत्रमा क्रियाशिल १५० बढी संघ संस्थाको विशाल र्यालीसहित महोत्सवको उद्घाटन गर्दै सभामुख घर्तीमगरले देश विकासको आधार कृषि र पर्यटन भएको उल्लेख गर्दै नक्कली कृषक बनेर अनुदान खानेहरू मौलाउदा बास्तविक किसान राज्यबाट पाउने सुविधाबाट बन्चित भएको बताए। सांसदहरू कानुन निर्माण र विकास निर्माणमा उत्तिकै महत्वका साथ लाग्ने र त्यसको अभ्यास सभामुखको रूपमा लुम्बिनी प्रदेशमा आफुले गर्ने उनको भनाई छ।

उद्धाटन समारोहमा लुम्बिनी प्रदेशका सांसदद्वय जानकी न्यौपाने, आशिष चौधरी, पूर्व सांसद दिपा विक, देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ,राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका पदाधिकारी,जनप्रतिनिधिको सहभागिता रहेको थिय।
कलाकार तेजु अर्यालद्वारा रचित देवदह पर्यटन गीतबाट सुरू भएको महोत्सवको उद्दघाटन समारोहको अध्यक्षता महोत्सव मूल आयोजक समिति संयोजक तथा उद्योग व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालको अध्यक्षता तथा महासचिव थानेश्वर लम्साल र संचारकर्मी धना पन्थीको संचालन तथा संस्थाका वरिष्ट उपाध्यक्ष अमृत बहादुर फुल्लेलको स्वागत मन्तव्य रहेको थियो।
महोत्सवमा उद्योग, अटोमोबाइल, होटेल व्यवसाय, कृषि, मनोरंजन, विज्ञान प्रदर्शनी, जातिय पहिचान गरि २ सय वटा स्टल रहेका छन् ।
अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।
उद्घाटन कार्यक्रममा बिभिन्न भेषभुषा, जातिय पहिचान झल्किने झाँकी, बिज्ञान तथा कृषि प्रदर्शनी, संघ संस्था, आमा समूह, विद्यालय, टोल विकास संस्था गरि हजारौको र्याली सहित सहभागिता रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology