देवदह । देवदह महोत्सवमा संचालन भैरहेको निशुल्क स्वास्थ्य जाँचमा दर्शकहरू आकर्षित भएका छन्। महोत्सवमा उद्घाटनदेखि नै स्वास्थ्य डेस्कमा निशुल्क मधुमेह जाँच, प्रेसर जाँच र दन्त परिक्षण हुँदै आएको छ ।
लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष र लायन्स क्लब अफ देवदह प्रोफेसनल यूथको संयोजनमा श्रीकृष्ण पोलिक्लिनिकको प्राविधिक टोलीले निशुल्क सुगर र प्रेसर जाँच गर्दै आएको छ। महोत्सव उद्घाटनको दिनमै ५ सय जनाले मधुमेह र प्रेसर जाँचको सेवा दिएको स्वास्थ्य टिमले शुक्रबार २ सय ६० र शनिबार ४ सय ७६ जनाको स्वास्थ्य परिक्षण गरेको लायन्स क्लब अफ देवदहका अध्यक्ष तथा स्वास्थ्य डेस्कका संयोजक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए। जाँच गरिएकामध्ये हालसम्म १ सय ७० जनालाई अस्पताल रिफर गरिएको संयोजक ज्ञवालीले बताए।

सेवा मै धर्म हो भन्ने मान्यता सहित मेला अवधीभर स्वास्थ्य टोली खटिएको र मेलाको अन्तिम दिनसम्म ५ हजार बढी नागरिकको स्वास्थ्य जाँच गर्ने लक्ष्य राखिएको आयोजकको भनाई छ।
देवदह महोत्सवमा मात्रै नभएर अन्य दिनहरूमा अन्य कार्यक्रममा समेत निशुल्क मधुमेह र प्रेसर जाँच गर्दै आएको लायन्स क्लब अफ देवदहले हालसम्म ४ हजार ५ सय ४६ जनाको निशुल्क स्वास्थ्य गरिसकेको छ।
साथै विजय डेण्टलले समेत निशुल्क दन्त परिक्षण र परामर्श दिईरहेको महोत्सवका स्वास्थ्य उप समिति संयोजक जयकिशन अधिकारीले जानकारी दिए।
उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुनसम्म चल्नेछ । देवदहमा २०७१ सालदेखि सुरू भएको महोत्सवको यो सातौं संस्करण हो । 'स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने मूल नारा सहित सुरु भएको महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा दैनिक गोष्ठी तथा सेमिनार सञ्चालन गरिनेछ।
महोत्सवमा उद्योग, होटेल व्यवसाय, कृषि, मनोरंजन, विज्ञान प्रदर्शनी, जातिय पहिचानका स्टल तथा घोड सवारीको सुविधा समेत व्यवस्था छ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन।
महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology