देवदह । रुपन्देहीको देवदहमा संचालित सातौ राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव सकिएको छ। माघ २६ देखि फाल्गुन १० सम्म संचालित महोत्सव ७ करोडको कारोवार गर्दै सम्पन्न भएको हो ।
दुई हप्तासम्म संचालित महोत्सवलाई ७५ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ। महोत्सवको समापन कार्यक्रममा बोल्दै मेला मूल आयोजक समितिका संयोजक मेघराज ढकालले आयोजकले अपेक्षित लक्ष्य हासिल गरेको जानकारी दिदैं मेला सफल भएको बताए ।
होटल र सांस्कृतिक खाजा घरसहित २०० स्टल रहेको मेलामा बाल उद्यान, विज्ञान प्रदर्शनी, घोड सवार, फोटो प्रदर्शनी, पर्यटन गोष्ठी, भलिबल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
महोत्सवको समापन समारोहमा बोल्दै देवदह नगरपालिका प्रमुख धुर्व प्रसाद खरेलले मेला महोत्सवले आर्थिक कारोवार चलायमान गर्न सहयोग पुगेको बताए । देवदह क्षेत्रमा रहेका व्यवसायीक संघसंस्थाले आयोजना गर्दै आएको मेला स्थल देवदह मण्डपलाई व्यवस्थित गर्न नगरपालिका तयार रहेको जानकारी दिंदै प्रमुख खरेलले आगामी वर्षमै देखिने गरि कामको थालनी हुने प्रतिवद्दता व्यक्त गरे।
गौतम बुद्धको मावली स्थल रहेकोले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भुमिका खेलेको बताउंदै प्रमुख खरेलले कृषि र पर्यटनको प्रवद्र्धन गर्दै देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न व्यवसायीहरुको सहयोग गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
समापन कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम पराजुली, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, उद्योग व्यापार संघका सचिवालय सदस्य मनिष जोसी, नेपाली काग्रेसका गुनाखर भुर्तेल, उद्योग बाणिज्य संघका हरिप्रसाद भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा महोत्सव सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
महोत्सव मूल समितिका सहसंयोजक अमृत फुलेलको स्वागत, उद्योग व्यापार संघका संस्थापक अध्यक्ष गोविन्द ठड्राईको धन्यवाद ज्ञापन र महासचिव थानेश्वर लम्सालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology