काठमाडौ । ब्याटिङमा आसिफ सेख र बलिङमा सन्दीप लामिछाने चम्किदा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा ५२ रनको शानदार जित निकालेको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ९७ रन बनाएको थियो । नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४७.१ ओभरमा २४५ रन जोड्दै अलआउट भयो ।
नेपालका ओपनर व्याट्सम्यान आशिफ शेखले सर्वाधिक ११० रन र कुशल भुर्तेलले ४५ रनको योगदान दिए । आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए । कप्तान रोहित पौडेल ३० रनमा क्याच आउट भए, ज्ञानेन्द्र मल्लले ११ रन जोडे भने दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । यसैगरी भीम सार्कीले ४४ रन, आरिफ शेखले १५, करण केसीले आठ, सन्दीप लामिछानेले सात, तथा सोमपाल कामीले चार रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए, कुशल मल्लले एक विकेट लिए ।
आजको स्कोर नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा बनाएको अहिलेसम्मकै उच्च स्कोर हो । आसिफ शेखले एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएपछि नेपालले क्रिकेट विश्वकप लिग २ मा पपुवा न्यूगिनीविरुद्ध २९७ रनको उच्च स्कोर बनाएको हो ।
आजको जितसँगै ३३ खेलबाट ३४ अंक जोडेको नेपाल अंकतालिकाको पाँचौँ स्थानमा कायम छ। घरेलु मैदान र घरेलु दर्शकको साथले गर्दा बलियो देखिएको नेपालले अबका तीन खेल जितेमा तालिकाको शीर्ष ३ मा रहँदै विश्वकप छनोट खेल्ने अबसर पाउने छ भने एक खेल जितेर एकदिवसीय मान्यता कायम राख्ने पनि अवसर छ ।
नेपालले अब आइतबार यूएई, सोमबार पपुवा न्युगिनी र बिहीबार फेरि यूएईसँग खेल्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology